मीन बहादुर खड्का काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिका १ डुँग्रीकी १७ वर्षीय रेजिना नेपाली आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएको एक वर्ष बित्यो । २०८० पौष २ गते उनी मृत भेटिएकी थिइन् । आफ्नै घरमा मृत भेटिएकी उनको बलात्कार पछि हत्या भएको आफन्तले आरोप लगाउदै आएका छन् ।
खप्तड छेडेदह गाउँपालिका ७ का अन्दाजी ४५ वर्षीय गाडी चालक अर्जुन रावतले आफ्नो छोरीको बलात्कार पछि हत्या गरेको दाबी आफन्तको छ । रेजिना मृत भेटिएको अघिल्लो महिना मङ्सिर २९ गते गाउँकै दिदि नाता पर्ने बिपना नेपालीले भागेर बिहे गर्ने र आफुलाई छोड्न जान अनुरोध गरेपछि रेजिना सहितका साथीहरू उनलाई राती बीच बाटो सम्म छोड्न गएका थिए।
त्यहीँ राती निज आरोपित अर्जुन रावतले रेजिनालाई जबरजस्ती करणी गरेको र त्यसको दुई दिनपछि घरमै आएर पुनः बलात्कार गरी हत्या गरेर घटनालाई भवितव्य देखाउन झुड्याएको आरोप रेजिनाका काका नाता पर्ने सुरेन्द्र नेपालीको छ ।
रेजिना मृत अवस्थामा फेला पर्दा उनका बुबा बुदे सनाई रोजगारीको सिलसिलामा भारतमा थिए । घटना सुनिसकेपछि उनी घर फर्किए र छोरीको बलात्कार पछि हत्या गरिएको भन्दै निज आरोपित भनिएका अर्जुन रावत विरुद्ध जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय बाजुरा पुगेका थिए। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन।
चार पटक जाहेरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय बाजुरा पुगेका पीडित परिवार जाहेरी दर्ता गर्न नपाएर फर्किएको थियो । प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरूले दलित अधिकारकर्मीलाई गुहारे।
मृतक रेजिनाको सुरुमा बलात्कार गरेको र त्यसपछि थाहा पाउन्छन् भन्दै मारेर झुण्ड्याइएको मृतकका परिवारको आरोप छ । बलात्कार पछि हत्या गरेर झुन्ड्याएको भन्दै न्यायका लागि जाहेरी लिएर प्रहरी गुहार्दा उनलाई पटकपटक प्रहरीद्वारा घर फर्काइयो । प्रहरीले नै पोष्ट माटम रिपोर्ट नआएसम्म जाहेरी दर्ता नगर्ने अडान लिईरहे अन्ततः २०८०”माघ ५ गते घटनाको ३२ दिनपछि मात्रै उनको जाहेरी दर्ता भयो । पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भनेको जिल्ला प्रहरी कार्यालयले पीडितले दर्ता गर्न चाहे अनुसारको जाहेरी दर्ता गर्न भने मानेन ।
त्यसपछि मात्रै बल्ल उनीहरूको जाहेरी ३२ दिनपछि प्रहरीले दर्ता भयो । त्यो पनि सच्याएर मात्रै । पीडित परिवारले बलात्कार पछि हत्या गरेको भन्दै जाहेरी दर्ता गराउन खोजेका थिए तर प्रहरीले नै उक्त जाहेरी दर्ता नहुने बताउदै सच्याउन दबाब दिएपछि जाहेरी सच्याएर अन्ततः ३२ दिनपछी जाहेरी दर्ता भएको रेजिनाका बुवा बुदे सनाई बताउन्छन्।
” म चार पटक गएको थिए, पहिला प्रहरीले पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी लिन्छौं भन्दै घर पठाए, पोष्टमाट्म रिपोर्ट आएपछि बलात्कार पछि हत्या भएको रिपोर्टले नदेखाएको भन्दै जाहेरी सच्याउन भने,यो सच्याएर आउनुस्, तपाइँको छोरी आफैले आत्महत्या गरेकी हुन्, त्यसैले यस्तो जाहेरी दर्ता गर्न मिल्दैन, भनेपछि हामीले सच्याउन बाध्य भयौं, हामीले बलात्कार पछि हत्या भएको भनेर जाहेरी दर्ता गर्न खेजेका थियौँ”
जाहेरी सच्याउन प्रहरीले नै दिएको थियो दबाब :
प्रहरीले नै दबाब दिएर आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गर्न लगाएको पीडित पक्षको आरोप छ । आफुहरुले दर्ता गर्न खोजेको जाहेरी नै प्रहरीले लिन नमानेको पीडित पक्षको अहिलेसम्म गुनासो छ ।
प्रहरीले ३२ दिनपछि जाहेरी सच्याउन लगाएर आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गर्यो। प्रहरीले घटनाको अनुसन्धान गर्दा आत्महत्या दुरुत्साहान मात्रै देखिएकाले त्यसैमा जाहेरी दर्ता गर्न लगाएको स्वीकार गरिसकेको छ ।
तत्कालीन जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले पोष्टमाटम रिपोर्टमा उनी आफैले आत्महत्या गरेको रिपोर्ट आएपछि आत्महत्या दुरुत्साहनमा जाहेरी दिन लगाएको नेशन पार्टी संग भनेका थिए ।
पोष्टमाटम रिपोर्ट नआएसम्म जाहेरी लिन नमानेको कुरा उनले स्वीकार गरेका थिए ।
प्रहरी निरीक्षक भण्डारीले नेसन पार्टी संग भनेका थिए” ‘पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्छौं भनेर पर्खाएका हौँ,उहाँहरुले बलात्कार पछि मारेर झुण्ड्याएको भनेर जाहेरी दर्ता गर्न खोज्नु भएको थियो, तर पोष्टमाटम रिपोर्ट अनुसार आफै आत्महत्या गरेको रिपोर्ट आएपछि आत्महत्या दुरुत्साहानमा लगेका हौँ ।’
तर यता पीडित परिवारले भने त्यो स्वीकार गरेको छैन। पोष्टमाटम रिपोर्टमा समेत चलखेल गरेर अभियुक्तलाई बचाउने षडयन्त्र भएको आरोप लगाउदै आएका छन् । रेजिनाको बलात्कार पछी हत्या नै भएको कुरामा सिङ्गो गाउँ सहमत छ । तर प्रहरीको अनुसन्धानले भने आत्महत्या दुरुत्साहान मात्रै देखाएको छ ।
पीडित परिवारले आरोपित निज अर्जुन रावत नेकपा एमालेको जिल्ला सम्म पहुँच भएको व्यक्ति भएकाले उनलाई जोगाउन एमालेको सिर्ष नेतृत्व नै अग्रसर भएको आरोप लगाउदै आएको छ । तर एमालेका जिल्ला स्थित शिर्ष नेताहरु यो मिथ्या आरोप भएको बताउन्छन्।
आरोपित अर्जुन रावत नेकपा एमालेका कार्यकर्ता हुन् । यस अघि पनि उनी विभिन्न घटनामा मुछिदै आएका थिए । अपराधिक पृष्ठभुमिका रावत यस अघि नाबालकलाई कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा बसिसकेका व्यक्ति हुन् ।
यता जिल्ला दलित नेट्वोर्क बाजुराका जिल्ला सचिब रमेश विक समेत प्रहरीले घटना छुपाउन सक्रिय भुमिका खेलेको आरोप लगाउन्छन् । प्रहरीले एक दलित समुदायको कानुन बारे जानकारी नभएका मृतकका बुवाको सोझो पनको फाईदा उठाएर जाहेरी परिवर्तन गरेर मात्रै दर्ता गरेको प्रति सम्पुर्ण दलित अधिकारकर्मीहरुको गम्भीर ध्यानाकर्षण भएको उनले पटकपटक यो घटना बारे दोहोराउदै आएका छन् । तर तत्कालीन अनुसन्धान गरिरहेको प्रहरीले भने पीडित पक्षले लगाएका सवै आरोपहरु मिथ्या रहेको भन्दै पन्छिन खोजेको थियो ।
तत्कालिन यो घटनाको अनुसन्धान गरेका प्रहरी प्रमुख कबिन्द्र सिंह बोहरा र प्रहरी निरीक्षक किशोर सिंह एरीलाई कारबाही गर्नुपर्ने माग पीडित पक्षको थियो । अहिले तत्कालीन प्रमुख प्रमुख र प्रहरी निरीक्षक सरुवा भएर गैसकेका छन् । यो घटना बारे बुझ्दा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी डिलिप कुमार केसीले यो घटना अनुसन्धान प्रक्रिया सकिएर अदालत बुझाईसकेको बताएका छन् । घटनाको अनुसन्धानको बेला आफू नभएकाले यो घटना बारे धेरै जानकारी नभएपनी आरोपित रावत अहिले फरार नै रहेको उनको भनाई छ । उनी भेटिएमा जतिबेला पनि पक्राउ पर्ने उनले बताए ।
आरोपित अझै फरार, प्रहरी मौन:
आरोपित निज अर्जुन रावत घटना भएको दिन देखि नै फरार छन् । जाहेरी दर्ता गरेपछि प्रहरीको फरार सुचिमा रहेका रावतलाई प्रहरीले पक्राउ गर्न नचाहेको आरोप समेत पीडित पक्षको छ । उनी अहिलेसम्म पक्राउ परेका छैनन् । अहिले यो घटनालाई गुमनाम पार्न खोजिएको आरोप समेत पीडित परिवारको छ ।
पीडित परिवारले न्याय माग्दै जिल्ला प्रशासन कार्यालयम धर्ना कार्यक्रम, बिरोध कार्यक्रम पनि गरे। पीडित परिवारहरुले घटनाको अनुसन्धानमा पिडकलाई बचाउने गरि फितलो अनुसन्धान गरेको भन्दै तत्कालीन प्रहरी प्रमुख – कबिन्द्र सिंह बोहरा र प्रहरी निरीक्षक दानसिंह भण्डारीलाई नै कारबाहीको माग गर्दै गृहमन्त्रालयको पनि ध्यानाकर्षण गराएको थियो ।
गृहमन्त्रीले दिएको आश्वासन अधुरै :
तत्कालीन गृहमन्त्री नारायण काजी श्रेष्ठले घटनाको बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै पीडितलाई न्याय दिने आश्वासन दिएका थिए। तर अहिलेसम्म कुनै सुनुवाई भएन । तत्कालीन प्रहरी प्रमुख, प्रहरी निरीक्षकलाई बर्खास्त गर्नुपर्ने, आरोपितलाई पक्राउ गरि कानुनी कारबाही गर्नुपर्ने, माग पीडित परिवारको थियो । उनीहरूले काठमाडौं आएर थुप्रै दलित अभियान्ताहरुलाई भेटेर आफ्नो गुनासो सुनाए, छोरीको न्यायका लागि बुवा बुदे सनाईले सबैलाई हारगुहार पनि गरे । एकीकृत दलित मोर्चा नेपालका संयोजक दर्शन नेपालीको नेतृत्वमा राजधानीमा पनि बिरोधका कार्यक्रमहरु भए।चौतर्फी राज्यलाई दबाब दिने कार्यपनि दलित अधिकारकर्मीबाट भयो । तर त्यसको प्रभाव न्यायमा पर्न सकेन ।
सयोजक नेपालीले मृतक रेजिनाको न्यायका लागि अन्तिम सम्म लड्ने बताईरहेका छन् । उनले रेजिनाको न्यायका लागि गरेका पहलहरुले निचोड भने निस्किएको छैन। उनको न्यायको लडाइँ भने नसकिएको र अन्तिम सम्म जारी रहने नेपाली बताउन्छन् । घटना भएको ३२ दिनपछि मात्रै प्रहरीले जाहेरी लिएको, घटना छुपाउने प्रहरी प्रशासन, राजनीति दल नै सक्रिय भएको,बलात्कार पछि हत्या गरेको भनी दर्ता गर्न खोजेको जाहेरी प्रहरीले नै दबाब दिएर आत्महत्या दुरुत्साहानमा सच्चाएर जाहेरी दर्ता गर्न लगाएको तत्कालीन प्रहरी प्रमुख र प्रहरी निरीक्षकलेनै घटनाका अभियुक्त जोगाउन राजनीति दलका नेताहरुको दबाबमा अनुसन्धानमा च्रम लापरबाही गरेको समाचार नेशन पार्टीले सम्प्रेषण गरेपछि घटनाको बिषय ब्यापक बनेको थियो ।
देश व्यापी रुपमा न्यायका आवाजहरु तत्कालीन समयमा गुन्जिएपनि न्यायीक निकायको मौनताका कारण घटना सेलाउदै गएको थियो । अहिले घटनाको एक वर्ष बितिसक्दा पनि न्यायका आवाजहरु गुन्जिन छोडेका छन् । आरोपित अर्जुन रावत फरार छन् । उनको घटनाको बिषयलाई गुमनाम पार्न खोजिदैछ । उनी नेपाल बाहिर रहेकाले पक्राउ गर्न नसकेको प्रहरीले जनाएको छ । दलित परिवारको बालिका भएकाले उनको हत्या प्रकरणलाई गम्भीरता पुर्वक कसैले नलिएको देखिन्छ ।
प्रहरी प्रशासन मौन, दलित अधिकारकर्मीबाटै उपेक्षामा रेजिना:
यो घटाउनलाई कमजोर बनाउन सुरु देखी नै प्रहरीले अनुसन्धानमा च्रम लापरबाही गरेको जिल्लाका दलित अधिकारकर्मीहरु बताउन्छन् । यतिमात्र होइन प्रहरीले पिडक बचाउने उदेश्यले जबरजस्त जाहेरी सच्याउन लगाएर आत्महत्या दुरुत्साहान बनाएको दलित अधिकारकर्मी प्रेम विकको आरोप छ ।
घटनाको एक वर्ष बितिसक्दा पनि अभियुक्तलाई पक्राउ नगर्नुको पछाडी दलितका मुद्धामा राज्यले व्यवास्ता गरेको आरोप दलित अधिकारकर्मी लगाउन्छन्। प्रहरीले पक्राउ नै गर्न नचाहेको उनीहरुको आरोप छ ।
अन्तरजातीय बिहे गर्ने जोडी पकाउ गर्न भारत गयो प्रहरी, बलात्कारका आरोपित एक वर्ष देखि भारतमै फरार:
यतिबेला एउटा सर्लाहीको अन्तरजातीय बिवाहको बिषयको विवाद सतहीमा आएको छ। अन्तरजातीय बिवाह गर्ने दलित युवक माथी गृहमन्त्रीकै निर्देशनमा अत्याचार गरेको बिषय सार्वजनिक भएको छ । सत्ता र शक्तिको दुरुपयोग गरेर गृहमन्त्रीले नै अन्तरजातीय बिहे गर्ने जोडी पक्राउ गर्न प्रहरी भारत पठाए तर यता बलात्कार पछि हत्या गरेको आरोप लागेपछि फरार भएका आरोपित अर्जुन रावत अहिलेसम्म फरार छन् ।
यसरी राज्य शक्तिको दुरुपयोग गरेर अन्तरजातीय बिहे गर्ने जोडी पक्राउ गर्न प्रहरी पठाउन मिल्ने तर त्यहीँ उत्पीडित दलित समुदायको बालिकाको बलात्कार पछि हत्या गरेका आरोपित पक्राउ गर्न प्रहरी पठाउन नमिल्ने हो ? भन्दै दलित अधिकारकर्मीले अहिले प्रश्न गरिरहेका छन् । चाहेको भए निज अर्जुन रावत पक्राउ पर्न सक्थे तर प्रहरीकै मौनताका कारण यो घटना गुमनाम हुने स्थितिमा पुगेको छ । प्रहरीले आरोपित भारत रहेको भन्दै पक्राउ गर्न सम्भव नभएको भन्दै पन्छिन खोजेको छ ।
देशका विभिन्न ठाउँमा दलित समुदाय माथी भएका विभेदका घटनाहरुमा दलित अभियान्ताहरु डाको सुक्नेगरि बोल्छन्, रुकुममा मारिएका नबराज विक, सेते दमाई, बझाङकि सम्झना कामी लगायतका दर्जनौं घटनाक्रमका लागि न्यायका आवाजहरु गुन्जिरहदा दलित अभियान्ता र दलित अधिकारकर्मीबाटै रेजिना नेपाली बलात्कार पछि हत्या प्रकरण उपेक्षामा परेको छ ।
दलित अधिकारकर्मीले उच्चारण गर्ने पीडितहरुको सूचिमा रेजिना नेपालीको नाम समेटिदैन । उनीहरूले उच्चारण किन गर्दैनन् गर्न चाहादैनन् वा थाहा छैन । के यी दलित समुदायकी बालिका होइनन् । ६० लाख दलितको हक अधिकारका लागि लड्छु भनेर सडक संघर्षमा रहेका दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले बलात्कार पछि हत्या गरिएकी पिडक बचाउन प्रहरी प्रशासन नै लागेको बिषय सार्वजनिक हुँदा पनि यो बिषयमा काहिँ कतै बोलेको देखिदैन।
“छोरीको हत्या भएको एक वर्ष बढी भयो, अहिलेसम्म कुनै सुनुवाई भएन, हामी गरिब त्यसैमा दलित अनि हामीले कहाँ न्याय पाउन्छौँ यो देशमा, पाओर र पहुँच भएका भएकाहरु भए सुनुवाई हुन्थ्यो होला, म सबै ठाँउ, पुगे, सबै संग छोरीको न्यायका लागि भने, तर केही भएन रेजिनाका काका सुरेन्द्र नेपालीले दुखेसो पोखे ।
बाजुरामा दलित समुदायमा मुद्धामा प्रहरीले राजनीति दलको दबाबमा परेर च्रम लापरबाही गर्दै आएको दलित अधिकारकर्मी प्रेम विकको दाबी छ।जिल्लामा दलित समुदायले दलित समुदायको जाहेरी समेत लिन नमानेका थुप्रै घटना रहेको विक सुनाउन्छन् । रेजिना नेपाली बलात्कार पछि हत्या प्रकरण, पहिलो घटना नभई यस्ता दर्जनौं जातीय विभेदका घटनाहरुमा प्रहरी राजनीति दलको प्रभावमा परेर मिलोमतो गर्ने गरेको उनको आरोप छ ।
यी हुन् पीडित परिवारले आरोपित भनिएका अर्जुन रावत: तस्बिर पीडित परिवारबाट उपलब्ध गराईएको हो
घटनाको नालिबेली पूरा थाहा पाउन यो पनि पढ्नुहोस्
बाजुरामा १७ वर्षीया बालिका रेजिनाको बलात्कारपछि हत्या, प्रहरीले ३२ दिनसम्म लिएन जाहेरी
सम्वन्धित समाचार
गणतन्त्रको पक्षमा एमालेले घोषणा गर्यो जनप्रदर्शन र विशेष सभा, कहिले कहाँ ?
आठ महिनामा १३ खर्बको वैदेशिक व्यापार– ९ खर्ब ८७ अर्ब घाटा
विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन सम्बन्धि कार्यशाला सम्पन्न
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा लहर देखिएको भन्दै प्रचण्ड उत्साही
आजदेखि एसईई परीक्षा सुरू ५ लाख बढी विद्यार्थी सहभागी
कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले संसदबाटै मागे माफी