चिलिमेको सुरूङमा फसेकाहरू सकुशल हुनसक्ने आशामा जागेको छ– कुलमान घिसिङ



रसुवा । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङले चिलिमे जलविद्युत आयोजनाको सुरूङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा जागेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सुरूङ भित्रबाट चिसो हावा समेत आइरहेकाले फसेको आशंका गरिएका व्यक्तिहरू सकुशल हुन सक्ने आशा बढेको बताएका हुन्।

बाढीको १६ दिन बितिसकेको छ। त्यहाँ आवाज पठाउँदा इको आएको र हावा समेत पास भइरहेकाले सम्पर्कविहीनहरू भित्रै भए सकुशल हुन सक्ने अनुमान गरिएको उनले बताएका छन्।

‘चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध–निर्देशकका रूपमा विद्युतगृह सञ्चालनको अनुभवका आधारमा उद्धार टोलीलाई आवश्यक प्राविधिक सुझाव तथा समन्वय एवं सहजीकरण गरिरहेको छु।विद्युतगृह जाने मुख्य पहुँच सुरूङमा ठूलो मात्रामा जम्मा भएको लेदो सहितको वालुवा ढुंगा हटाउने कार्य तीव्र रूपमा भइरहेको छ।

उद्धार टोली लेदोको भाग छिचोल्दै निरन्तर अगाडि बढिरहेको छ,’ घिसिङले लेखेका छन्, ‘साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको छ। त्यहाँबाट चिसो हावा समेत आइरहेकोले सुरूङभित्र फसेका व्यक्तिहरू सकुशल रहेको हुनसक्ने आशा र अनुमानलाई बल पुगेको छ।’

घिसिङका अनुसार अब विद्युत गृह पुग्न करिब १०० मिटर बाँकी छ। यो अवस्थामा प्रत्येक मिटरको प्रगति र प्रत्येक संकेतले सबैमा नयाँ आशा जगाएको उनले बताएका छन्।

स्याफ्रुबेँशी तर्फबाट एक्स्काभेटरले सुरूङसम्म बाटो बनाउने काम भइरहेको र आजसम्म सुरूङसम्म पुग्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन्।

त्यहाँ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमे जलविद्युत कम्पनीका कर्मचारी खटिएका छन् ।

रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युतगृहमा ६ जना कर्मचारी फसेको आशंका गरिएको छ।

उनीहरू भदौ १० गतेको बाढीपछि सम्पर्कविहीन छन्।

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.