नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग



काठमाडौँ-आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियानले ‘नागरिक खबरदारी पत्र–२०८२’ सार्वजनिक गरेको छ। नागरिक समाजका विभिन्न क्षेत्रका अगुवाहरूको सहभागितामा जारी उक्त पत्रमार्फत नेपालमा ‘लोकतान्त्रिक पर्यावरणीय समाजवाद’ को आधार निर्माण गर्न राजनीतिक दल, सरकार र सरोकारवालाहरूलाई आग्रह गरिएको छ।

अभियानले जनआन्दोलन, संघर्ष, क्रान्ति र विद्रोहबाट प्राप्त संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता तथा समानुपातिक समावेशिताजस्ता उपलब्धिहरूलाई संस्थागत गर्दै नागरिक अधिकार थप सुनिश्चित गर्न खबरदारी पत्र जारी गरिएको जनाएको छ।

लोकतन्त्र र सुशासन

खबरदारी पत्रमा नागरिकको अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न सहभागितामूलक लोकतन्त्रको अभ्यास सुदृढ गर्नुपर्नेमा जोड दिइएको छ। निर्वाचित प्रतिनिधि उत्तरदायी नभएमा फिर्ता बोलाउन पाउने ‘प्रत्याह्वान’ सम्बन्धी कानुनी व्यवस्था गर्न तथा संविधानको सुदृढीकरणका लागि उच्चस्तरीय संविधान पुनरावलोकन तथा संशोधन आयोग गठन गर्न माग गरिएको छ।

अर्थतन्त्र र रोजगारी

दलाल तथा आसेपासे पुँजीवादको अन्त्य गर्दै स्वदेशमै वार्षिक ५ लाख मर्यादित रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उत्पादनमूलक हरित अर्थतन्त्रको विकास गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, प्रगतिशील कर प्रणाली लागू गरी एकीकृत सामाजिक सुरक्षाको प्रत्याभूति गर्न पनि अभियानले माग गरेको छ।

शिक्षा, स्वास्थ्य र सामाजिक न्याय

शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बढ्दो निजीकरण, व्यापारीकरण र वस्तुकरणको अन्त्य गर्दै यी क्षेत्रलाई राज्यको अनिवार्य दायित्वका रूपमा स्थापित गर्नुपर्नेमा पत्रमा जोड दिइएको छ। साथै, राज्यका सबै अंगमा जनसंख्याका आधारमा दलित, महिला, जनजाति, मधेसी, मुस्लिम, थारु, युवा, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत तथा अल्पसंख्यक समुदायको अर्थपूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग गरिएको छ।

वातावरण र जलवायु न्याय

नवउदारवादी विकास मोडेल परिमार्जन गरी मानव र पर्यावरणमैत्री विकास नीतिको अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै जलवायु परिवर्तनमा ऐतिहासिक जिम्मेवारी बोकेका औद्योगिक राष्ट्रहरूबाट क्षतिपूर्ति तथा अनुदान प्राप्त गर्न सशक्त कूटनीतिक पहल आवश्यक रहेको औँल्याइएको छ।

वैदेशिक नीति

नेपालको सार्वभौमसत्ता र अखण्डताको रक्षाका लागि सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिँदै नेपाललाई शक्ति राष्ट्रहरूको सामरिक प्रतिस्पर्धाको मैदान बन्न नदिन सचेत रहन आग्रह गरिएको छ।

उक्त खबरदारी पत्रमा नरेन खतिवडा, मञ्जु गुरुङ, पम्फा परियार, प्रयास अधिकारी, खगेन्द्र ओली, डा. चिरञ्जीवी भट्टराई, भोला भट्टराई, अधिवक्ता गणेश धामी, अधिवक्ता भोविन्द्र बहादुर शाह, अधिवक्ता विमन बुर्लाकोटी,सन्जु गुरुङ, विनय कार्की, सागर देवकोटा, जिया राजभण्डारी, जिना यादव, योगेन्द्र विजय दाहाल, सञ्जय पन्थी, सुस्मिता वैदवार, रामरोहन पन्त, महेन्द्र थापा, कर्णबहादुर नेपाली, राजेन्द्र महर्जन, मनोज राम, डा सुन्दर थापा,  लोकेन्द्रराज गिरीलगायतका नागरिक अधिकारकर्मीहरूले ऐक्यबद्धता जनाएका छन्।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.