काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्वास्थ्य मन्त्रालयले अस्पतालसँग स्पष्टिकरण सोधेको छ।
घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली आजै राजविराज जाने भएको हो। साथै, मन्त्रालयको तर्फबाट उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी समेत छानबिनका लागि टोलीसँगै आजै राजविराज जाँदैछन्।
घटनाको स्थलगत छानबिन गरी सत्यतथ्य बाहिर ल्याइने र छानबिनका क्रममा दोषी देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले जनाएको छ।
छानबिनका क्रममा स्वास्थ्यकर्मी वा अस्पताल प्रशासनको तर्फबाट कुनै पनि प्रकारको गल्ती वा लापरबाही देखिएमा सम्बन्धित जो–कोहीलाई पनि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने मन्त्री मेहताले चेतावनी दिएकी छन् ।
प्रत्येक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने नैसर्गिक अधिकार रहेको स्मरण गराउँदै उनले भनेकी छन्, ‘स्वास्थ्य सेवामा नागरिकको विश्वास र अधिकारप्रति मन्त्रालय सदैव संवेदनशील र प्रतिबद्ध छ ।’
घटनाबारे अस्पतालले समेत छुट्टै छानबिन समिति गठन गर्ने भएको छ। स्वास्थ्य संस्थामा उपचारका लागि आउने कुनै पनि सेवाग्राहीलाई स्वास्थ्य सेवाबाट वञ्चित गर्न नहुने भन्दै मन्त्रालयले घटनाको गम्भीरतापूर्वक अध्ययन तथा आवश्यक छानबिन अघि बढाइरहेको जनाएको छ।



सम्वन्धित समाचार
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
उद्योगमन्त्री यादवले दिइन् राजीनामा
मन्त्रिपरिषद्को बैठक बस्दै
भदौ २४ को हिंसालाई वैध र अराजकतालाई जायज बनाउने काम भयो-ओली
प्रतिनिधिसभा बैठकमा आज रविले सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै