लन्डन । बेलायतमा बालबालिकाको मोटोपन नियन्त्रण गर्न जंक फुडका टेलिभिजन र अनलाइन विज्ञापनमा सोमबारदेखि प्रतिबन्ध लगाइएको छ । बालबालिकामा बढ्दो मोटोपनको समस्या नियन्त्रण गर्न बेलायत सरकारले जंक फूड तथा चिनी धेरै भएका पेय पदार्थका विज्ञापनमा कडाइ गरेको छ ।
बेलायतभर लागू हुने यस नियमले चिल्लो पदार्थ, नुन र चिनी भएका खाना तथा पेय पदार्थका विज्ञापनलाई टीभीमा बेलुका ९ बजेअघिसम्म र अनलाइनमा कुनै पनि विज्ञापन गर्न नपाउने गरी रोक लगाउने उल्लेख छ ।
जंक फुडका कारण बालबालिकाले मोटोपनाको सामना गर्नुपरिरहेको परिस्थितिमा बेलायत सरकारले यस प्रतिबन्धलाई ‘विश्वकै अग्रणी कार्य’ भनी अर्थ्याएको छ । चिल्लो पदार्थ, नुन, चिनी तथा क्यालोरीको मात्रा उच्च भएका उत्पादनलाई लक्षित गर्दै तिनका विज्ञापनहरूमाथि लगाइएको प्रतिबन्धले बच्चाहरूको आहारलाई स्वस्थकर बनाउन सहयोग पुर्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य विभागका अनुसार विभिन्न अध्ययनहरूले विज्ञापनले बालबालिकाको खाने बानी र खानाको समयमै प्रभाव पार्ने देखाएका छन् । बाल्यकालमै अस्वस्थ्यकर खानाप्रतिको रुचि विकास हुँदा मोटोपनसँग सम्बन्धित रोगहरूको जोखिम बढ्ने भएकाले यस्तो कडाइ आवश्यक भएको विभागले जनाएको छ ।
बालबालिकाको मोटोपना बढाउने मुख्य कारक मानिएका ‘सफ्ट ड्रिंक्स’, चकलेट, मिठाई, पिज्जा, आइसक्रिम जस्ता जंक फुड उत्पादनको विज्ञापनमाथि आंशिक समय रोक लगाइएको हो । फुड एन्ड ड्रिंक फेडेरेसन (एफडीएफ) ले बालबालिकाको स्वस्थ खानपानको हकको प्रत्याभूति गर्न यस्तो प्रतिबन्ध लगाउनुपरेको उल्लेख गरेको छ ।
यस नियम उल्लंघन गर्ने कम्पनीहरूमाथि ‘एडभरटाइजिङ स्ट्यान्डर्डस् अथोरिटी’ (एएसए) ले कारबाही गर्नेछ । स्थानीय अधिकारीहरूलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फुड पसलहरू रोक्ने अधिकार पनि दिइएको छ । एनएचएसको तथ्यांकअनुसार चार–पाँच वर्ष उमेर समूहका करिब ९.२ प्रतिशत बालबालिकामा मोटोपनको समस्या छ जुन १० जनामध्ये एकमा देखिन्छ ।



सम्वन्धित समाचार
काठमाडौंको गैरीगाउँस्थित काठ गोदाममा आगलागी
वीरगञ्जमा दिउँसो १ बजेसम्म कर्फ्यु
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च
प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र
चुनावअघि नै संरचनागत सुधारका लागि राष्ट्रिय सहमति गरौँ – महामन्त्री थापा
ओलीलाई बयान दिन पत्र काट्दैछौँ, अध्यक्ष कार्की