लन्डन । बेलायतमा बालबालिकाको मोटोपन नियन्त्रण गर्न जंक फुडका टेलिभिजन र अनलाइन विज्ञापनमा सोमबारदेखि प्रतिबन्ध लगाइएको छ । बालबालिकामा बढ्दो मोटोपनको समस्या नियन्त्रण गर्न बेलायत सरकारले जंक फूड तथा चिनी धेरै भएका पेय पदार्थका विज्ञापनमा कडाइ गरेको छ ।
बेलायतभर लागू हुने यस नियमले चिल्लो पदार्थ, नुन र चिनी भएका खाना तथा पेय पदार्थका विज्ञापनलाई टीभीमा बेलुका ९ बजेअघिसम्म र अनलाइनमा कुनै पनि विज्ञापन गर्न नपाउने गरी रोक लगाउने उल्लेख छ ।
जंक फुडका कारण बालबालिकाले मोटोपनाको सामना गर्नुपरिरहेको परिस्थितिमा बेलायत सरकारले यस प्रतिबन्धलाई ‘विश्वकै अग्रणी कार्य’ भनी अर्थ्याएको छ । चिल्लो पदार्थ, नुन, चिनी तथा क्यालोरीको मात्रा उच्च भएका उत्पादनलाई लक्षित गर्दै तिनका विज्ञापनहरूमाथि लगाइएको प्रतिबन्धले बच्चाहरूको आहारलाई स्वस्थकर बनाउन सहयोग पुर्याउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य विभागका अनुसार विभिन्न अध्ययनहरूले विज्ञापनले बालबालिकाको खाने बानी र खानाको समयमै प्रभाव पार्ने देखाएका छन् । बाल्यकालमै अस्वस्थ्यकर खानाप्रतिको रुचि विकास हुँदा मोटोपनसँग सम्बन्धित रोगहरूको जोखिम बढ्ने भएकाले यस्तो कडाइ आवश्यक भएको विभागले जनाएको छ ।
बालबालिकाको मोटोपना बढाउने मुख्य कारक मानिएका ‘सफ्ट ड्रिंक्स’, चकलेट, मिठाई, पिज्जा, आइसक्रिम जस्ता जंक फुड उत्पादनको विज्ञापनमाथि आंशिक समय रोक लगाइएको हो । फुड एन्ड ड्रिंक फेडेरेसन (एफडीएफ) ले बालबालिकाको स्वस्थ खानपानको हकको प्रत्याभूति गर्न यस्तो प्रतिबन्ध लगाउनुपरेको उल्लेख गरेको छ ।
यस नियम उल्लंघन गर्ने कम्पनीहरूमाथि ‘एडभरटाइजिङ स्ट्यान्डर्डस् अथोरिटी’ (एएसए) ले कारबाही गर्नेछ । स्थानीय अधिकारीहरूलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फुड पसलहरू रोक्ने अधिकार पनि दिइएको छ । एनएचएसको तथ्यांकअनुसार चार–पाँच वर्ष उमेर समूहका करिब ९.२ प्रतिशत बालबालिकामा मोटोपनको समस्या छ जुन १० जनामध्ये एकमा देखिन्छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप