काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ। शुक्रबार दिउँसो १ बजे च्यासलमा बस्ने गरी सचिवालय बैठक आह्वान भएको हो। एमालेभित्र पदाधिकारीमा रस्साकस्सी पेचिलो बनेपछि विधान संशोधनको तयारी गरिएको छ ।
शनिबारदेखि एमालेको ११ औं महाधिवेशन सुरू हुँदैछ। महाधिवेशनअघि सचिवालय बैठक बस्न लागेको हो। यो बैठकमा पदाधिकारी र केन्द्रीय कमिटी आकार बढाउनेबारे छलफल हुने नेताहरूले जनाएका छन्।
आजको बैठकमा पदाधिकारीसहित र २५१ सदस्यीय केन्द्रीय कमिटीबाट संख्या बढाउने र मनोनीत प्रतिनिधि टुंग्याउने एजेण्डासहित महत्वपूर्ण छलफल हुने बताइएको छ ।
गत भदौ २०-२२ मा सम्पन्न विधान महाधिवेशनले एमालेको आगामी केन्द्रीय कमिटीमा १५ सदस्यीय पदाधिकारीसहित २५१ सदस्यीय कमिटीको व्यवस्था गरेको थियो । त्यसभित्र महिला, दलित, आदिवासी, जनजाती, मजदुरसहितको क्लष्टर थिए । स्थायी कमिटी खारेज गरी केन्द्रीय कमिटीभन्दा सानो आकारको पोलिटब्युरोको व्यवस्था गरिएको थियो ।
अहिले ओलीनिकटका नेता र उनको सचिवालयमा पदाधिकारी १९, स्थायी कमिटी ब्यूँताउने, केन्द्रीय सदस्य थपेर ३५१ सम्म पुर्याउने र केन्द्रीय कमिटीमा प्रवेश गर्नका निम्ति दुई क्लष्टर थप्ने तयारीमा छन् ।
तर, ईश्वर पोखरेल समूहले भने विधान संशोधनलाई अस्वीकार गर्ने बताइसकेको छ । संशोधन गर्नैपर्ने भए २ कार्यकाल र ७० वर्षे व्यवस्था कायम राख्नुपर्ने उनीहरूकव माग छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै