काठमाडाै- अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसको अवसरमा काठमाडौँमा*अन्तर्राष्ट्रिय मर्यादित महिनावारी सिकाइ सम्मेलन आयोजना हुने भएको छ।
विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत दक्षिण गोलार्धीय मर्यादित महिनावारी सञ्जाल (Global South Coalition for Dignified Menstruation) र राधा पौडेल फाउण्डेशनको संयोजनमा राष्ट्रिय युवा परिषद् तथा MenEngage Alliance (Global) को सह–आयोजनामा सम्मेलन आयोजना हुन लागेको हो।
प्रत्येक वर्ष १६ दिने अभियानको १४औँ दिन, अर्थात् डिसेम्बर ८ मा, विश्वभर अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइन्छ। यस वर्ष पनि “मर्यादित, समानता, मानव अधिकारका लागि मर्यादित महिनावारी” भन्ने नारा सहित सातौँ मर्यादित महिनावारी दिवस नेपालसहित विश्वभर मनाउन लागिएकाे हाे। सोही अवसरमा डिसेम्बर ८ देखि १० सम्म काठमाडौँमा सिकाइ सम्मेलन आयोजना गरिनेछ।
साेमबार काठमाडौँको अनामनगरस्थित सिलौटो कटेजमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाहरूले उक्त अन्तर्राष्ट्रिय सम्मेलनका लागि भव्य तयारी भइरहेको जानकारी गराएका हुन् । पत्रकार सम्मेलनमा बोल्दै लेखक तथा अभियन्ता राधा पौडेलले मर्यादित महिनावारीको सवाल विश्वभरका वैज्ञानिकहरूलाई चुनौती दिइरहेको महत्वपूर्ण विषय भएको बताइन्। उनका अनुसार महिनावारीलाई विभिन्न कोणबाट अनुसन्धान गरी नयाँ दृष्टिकोण निर्माण गर्न सम्मेलन प्रभावकारी हुनेछ।
पौडेलका अनुसार सम्मेलन रंगीन तथा सहभागीमूलक हुनेछ, जहाँ महिलालगायत विभिन्न समूहका व्यक्तिहरूले आफ्ना अनुभव र कथाहरू प्रत्यक्ष रूपमा सुनाउनेछन्। महिनावारी र लैङ्गिक हिंसा गहिरोसँग जोडिएको उल्लेख गर्दै उनले समाजका प्रत्येक व्यक्ति मर्यादित महिनावारीका लागि आवाज उठाउनु अत्यावश्यक भएको बताइन्। “महिनावारीका कारण घरभित्रै असमान शक्ति संरचना निर्माण हुन्छ, जसले विभेदको सुरुवात त्यहीँबाट गराउँछ,” उनले भनिन्। नेपाल प्रहरीका तथ्याङ्क उद्धृत गर्दै पौडेलले ९१ प्रतिशत लैङ्गिक हिंसा घर–परिवारमै हुने जानकारी प्रस्तुत गरिन्।
राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले महिनावारीसँग सम्बन्धित विभेद अन्त्य गर्न युवाहरूको भूमिका निर्णायक हुने उल्लेख गरे। उनले युवाहरूले सामाजिक विभेदविरुद्ध जिम्मेवारीपूर्वक उभिनुपर्ने आवश्यकता औँल्याउँदै सम्मेलनले युवामा ज्ञान, चेतना र सक्रियताको वृद्धि गर्ने विश्वास व्यक्त गरे।
सम्मेलनमा अफगानिस्तान, बंगलादेश, भूटान, भारत, क्यामरुन, केन्या, जापान, रुवान्डा, नेपाल, नाइजेरिया, पाकिस्तान, पेरु, टोगोलगायत २० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनमा विभिन्न सत्र, प्रशिक्षण, कार्यशाला, अनुसन्धान प्रतिवेदन सार्वजनिक, अनुभव आदान–प्रदान, नीतिगत छलफल तथा भावी कार्ययोजना तयार पारिनेछ।
उद्घाटन सत्रमा प्रधानमन्त्री सुशीला कार्कीको भिडियो सन्देशसहित मन्त्रीहरू, सरकारी उच्च अधिकारी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि तथा युवा समूहहरूको उपस्थिति रहने जनाइएकाे छ। साथै, कार्यक्रमअन्तर्गत मार्च पास, समूह प्रस्तुति, सांस्कृतिक नाटक, गीत–संगीत तथा मर्यादित महिनावारीसम्बन्धी प्रदर्शनी समेत रहने छ ।
यो सम्मेलनले महिनावारीलाई मर्यादासँग जोडेर विश्वव्यापी नीतिगत बहस, अनुभव आदान–प्रदान, प्रमाण–आधारित समाधान तथा अन्तर्राष्ट्रिय सहकार्यको सुदृढीकरणमा ऐतिहासिक योगदान दिने अपेक्षा गरिएको छ।



सम्वन्धित समाचार
निर्वाचन आयोगले दियो गगन–विश्व समूहलाई कांग्रेसको मान्यता
विशेष महाधिवेशनले कानुनी वैधता पाउँदैन: खम्मबहादुर खाती
एमाले सचिवालय बैठक भोलि बस्दै, प्रत्यक्षतर्फका उम्मेदवारबारे निर्णय गरिने
देउवा पक्षका संस्थापन नेताहरू निर्वाचन आयोग जाँदै
कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै
कांग्रेसको विशेष महाधिवेशन पक्ष रुख दाबी गर्दै आज निर्वाचन आयोग जाँदै