काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले आजबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो ।
‘सूचीकरण नभएका सामाजिक सन्जालहरु आजबाट क्रमश: बन्दको निर्णय लागू हुन्छ,’ सञ्चारमन्त्री गुरूङले भने, उनका अनुसार अब सूचीकरणमा आउने सामाजिक सञ्जाललाई दर्ता गरेर मात्रै खुल्नेछ ।
मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ ।
हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् । अरु बाँकी सबै सामाजिक सन्जालहरू बन्द हुनेछन् ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकाले नियमन गर्न भन्दै तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पालामा सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० तयार पारेको थियो ।
त्यसलाई २०८० साल कात्तिक २३ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै