विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज २ बजे उद्घाटन



काठमाडौं । पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज २ बजे सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् ।

च्यासलको ढोकामा तगारोपछि भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् । यद्यपि, बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।

दिउँसो २ बजे राखिएको उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ ।

व्यवस्थापनमा खटिएका एक नेताका अनुसार कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाउने गरी सुरूमा छलफल भएको थियो ।
‘मूल समारोह समितिका संयोजक डोरमणि कमरेडले औपचारिक निम्तोका लागि समय माग्नुभयो, तर प्रधानमन्त्रीज्यूबाट समय नपाइएपछि विद्या भण्डारीबाटै उद्घाटन गर्न लागेका हौ’, ती नेताले भने ।

एमालेका अन्य नेताहरूलाई पनि निमन्त्रणा पत्र दिइएको छ । केही नेतालाई हातैमा र नभेटिएकाहरूलाई केन्द्रीय कार्यालय सचिवमार्फत् पाउने गरी निम्तो थमाइएको छ ।

सदस्यता नवीकरण नगर्ने पार्टीले निर्णय गरे पनि आफू ब्याक नहुने अडान राखेकी ४५ वर्षदेखिको आफ्नो सदस्यता कसैले खान नसक्ने जवाफ दिएकी विद्याले मदन भण्डारी फाउन्डेसन मार्फत देशभर नेता कार्यकर्तासँग जोडिने तयारीमा छिन् ।

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.