काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा एकै दिन दुई फरक भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार भरतताल बनाउदा सरकारी सम्पत्ति हानीनोक्सानी गरेको आरोपमा दोषी ठहर गरेको हो । विशेषले नै उनलाई गैरकानूनी सम्पत्ति आर्जन गरेको अर्को भ्रष्टाचारको आरोपमा समेत दोषी ठहर गरेको हो ।
अदालतका अनुसार बागमती नगरपालिकामा मूल्य अभिवृद्धि करसहित ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थको हानिनोक्सानी गरेको पुष्टि गरेको छ । अदालतले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको कसूरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि यहि साउन २९ गते पेशी तोकेको छ । त्यसैगरी, प्रतिवादी लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई आरोप अनुसारको कसूर प्रमाणित नदेखिएकाले सफाइ दिएको छ ।
विशेष अदालतले गैरकानूनी सम्पत्तिआर्जनको अर्को भ्रष्टाचार मुद्दामा पनि मेयर थापालाई दोषी ठहर गरेको छ । विशेष अदालतले उनलाई ३ करोड ४५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेकोमा दोषी ठहर्याएको हो ।
९ करोड १४ लाख रुपैयाँ बैध रुपमा कमाएका उनले १२ करोड ५९ लाख रुपैयाँको सम्पत्ति जोडेको भेटिएको विशेष अदालतको ठहर छ । अख्तियारले ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक तरिकाले कमाएको दाबी गरेको थियो ।
उनलाई विशेष अदालतले गैरकानूनी सम्पत्तिआर्जनको भ्रष्टाचार मुद्दामा एक वर्ष कैद, विगो र त्यही बराबरको जरिवाना तिर्नुपर्ने फैसला गरेको हो । विशेष अदालतले उनले ३ करोड ४५ लाख बिगो बुझाउनुपर्ने ठहर गरेको हो ।
भ्रष्टाचार मुद्दा लागेपछि मेयर थापा २७ चैत, २०८० देखि निलम्बनमा छन् । दोषी ठहर भएकाले उनको निलम्बन यथावत रहनेछ ।




सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो