काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।
न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशपछि जिल्ला अदालत रुपन्देहीबाट सुप्रिम सहकारी ठगीको मुद्दा नटुंगिदासम्म रवि थुनामा हुनेछन् । जिल्ला अदालतले सफाइ दिएमा मात्रै उनी थुनामुक्त हुनेछन् तर त्यतिबेलासम्म अरु आरोपबाट पनि उनले सफाइ पाएको हुनुपर्नेछ ।
सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने थुनामा परेका थिए । उच्च अदालतले त्यतिबेला जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।
बुटवलको सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने रुपन्देही कारागारमा छन् । सो मुद्दामा गत माघ १३ मा रूपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध रुपन्देही सरकारी वकिलको कार्यालयले रिट दर्ता गरेको थियो । सोही मुद्दामा सुनुवाइ गर्दै उच्च तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । साथै उनले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराएका थिए ।
![Lamichhane to remain in custody, refusal by Supreme Court to issue order of habeas corpus [with order]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/third-party/1-2352025051325-1000x0.jpg)
![Lamichhane to remain in custody, refusal by Supreme Court to issue order of habeas corpus [with order]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/third-party/2-2352025051306-1000x0.jpg)
![Lamichhane to remain in custody, refusal by Supreme Court to issue order of habeas corpus [with order]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/third-party/3-2352025051246-1000x0.jpg)
![Lamichhane to remain in custody, refusal by Supreme Court to issue order of habeas corpus [with order]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/third-party/4-2352025051226-1000x0.jpg)
![Lamichhane to remain in custody, refusal by Supreme Court to issue order of habeas corpus [with order]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/third-party/6-2352025051207-1000x0.jpg)
![Lamichhane to remain in custody, refusal by Supreme Court to issue order of habeas corpus [with order]](https://assets-cdn.kantipurdaily.com/uploads/source/news/kantipur/2025/third-party/7-2352025051146-1000x0.jpg)
प्रकाशित : जेष्ठ ९, २०८



सम्वन्धित समाचार
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो