काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको सांसद पद निलम्बनमा परेको छ ।
अख्तियारले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वत: निलम्बित भएका हुन् । बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् ।
सञ्चारमन्त्री हुँदा बस्नेतले मन्त्रिपरिषद्ले मात्र पाउने अधिकारभन्दा वाहिर गई टेरामक्स कार्यान्वयनको निर्देशन दिएको । सोहीअनुसार दूरसञ्चार प्राधिकरणका अधिकारीहरूले कानूनविपरीत काम गरेको उनीमाथि अभियोग छ ।
बस्नेतसहित १६ जना प्रतिवादी रहेको उक्त मुद्दामा जनही ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो दाबी गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।
बस्नेत निलम्बनमा परेको आधिकारिक पत्र प्राप्त भएपछि सभामुखले सदनलाई जानकारी गराउने छन् । तर, पत्र आइनसकेको साथै समय पनि घर्किसकेकाले भोलिको बैठकमा जानकारी हुने संसद सचिवालय स्रोतले बतायो ।
प्रतिनिधि सभा सदस्य बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । निलम्बनको सूचना सभामुखले संसदमा सुनाउनुपर्ने व्यवस्था छ ।
यस सम्बन्धी व्यवस्था भ्रष्टाचार निवारण ऐनको दफा ३३ मा छ । जहाँ भनिएको छ, ‘…थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर