काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक– २०८१ संस्थालाई टुक्र्याउन भन्दा पनि प्रणालीलाई बलियो बनाएर हवाई सेवा सुरक्षित र भरपर्दो बनाउन ल्याइएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा यस सम्बन्धी विधेयकको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको हवाई क्षेत्रलाई सुरक्षित, प्रणालीलाई बलियो बनाउन र अन्तर्राष्ट्रिय छवि सुदृढ पार्न विधेयक केन्द्रित रहेको बताए ।
नेपाल हवाई सेवा प्राधिकरण र नागरिक उड्डयनसँग सम्बन्धित विषयमा संसद्मा व्यापक छलफल भइरहेको उनले बताए । नेपालको आकाशलाई गतिशील र सुरक्षित बनाउनुपर्ने चुनौती रहेको भन्दै उनले यसमा सबैको राय र सल्लाह आवश्यक रहेको बताए ।
नेपालको पर्यटन र हवाई क्षेत्रमा सम्भावना र चुनौती दुवै भएको उल्लेख गर्दै मन्त्री पाण्डेले सडक यातायातबाट गन्तव्य पुग्न धेरै समय लाग्ने हुँदा हवाई क्षेत्र छोटो समयमा गन्तव्यमा पुर्याउने सम्भावना बोकेको क्षेत्र भएको बताए ।
मन्त्री पाण्डेले भूगोलजन्य चुनौती र मौसम अस्थिरताका कारण नागरिक उड्डयन क्षेत्रमा विशेष सावधानी आवश्यक रहेको बताए ।
सम्भावना उपयोग गर्न पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याउने कार्ययोजना अघि बढाइएको र त्यसको सकारात्मक संकेत देखिएको छ।
अन्तर्राष्ट्रिय र स्वदेशी यात्रुका बीमा सुविधामा ठूलो अन्तर रहेको भन्दै उनले त्यसको समायोजन र पुनरावलोकनका लागि नयाँ ऐन निर्माण भइरहेको जानकारी दिए ।
नागरिक उड्डयन क्षेत्र सुधारका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिल सिन्हाको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गरिएको र उक्त संयन्त्र मार्फत बृहत छलफल भइरहेको उनले बताए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै