शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आन्दोलनरत शिक्षकका माग पूरा गर्न छोडेर बल प्रयोग गरी सरकारले कुशासनको उदाहरण पेश गरेको बताएका छन् ।

आन्दोलनरत शिक्षकहरूले प्रहरी घेरा तोड्न खोजेपछि आइतबार दिउँसो झडप हुँदा ६१ जना शिक्षकहरू घाइते भएका थिए।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा छन्।

‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो। पठन-पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ,’ कोइरालाले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरूमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो।’

कोइरालाले पालिका लगाएर शिक्षकहरूलाई धम्क्याइएको उल्लेख गरे पनि कुन पालिकाले कुन शिक्षकलाई धम्क्याएको हो भन्नेबारे उल्लेख गरेका छैनन्।

नेपाल शिक्षक महासंघले आइतबार विज्ञप्ति निकालेर स्थानीय तहहरूले शिक्षकहरूलाई धम्की दिइरहेको उल्लेख गरेको थियो।

 

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.