काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रदर्शन हुँदै छ। राप्रपाले आज काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो। प्रदर्शनलाई हिंसात्मक हुन नदिनका लागि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद भवन नयाँबानेश्वर, माइतीघर मण्डला, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपतिको कार्यालय लगायतका क्षेत्रमा अघिल्ला दिनको तुलनामा आज सुरक्षाकर्मीहरुको टोली बढी देखिन्छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी टेक तामाङले राप्रपाको प्रदर्शनलाई लक्षित गरी सुरक्षा रणनीति तयार पारिएको बताए । त्यसका लागि आवश्यक सुरक्षाकर्मीहरुलाई विभिन्न ठाउँमा परिचालन गरिएको जानकारी पनि दिए ।
उनका अनुसार निषेधित क्षेत्र तोड्न नदिने र यदि तोड्ने प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारी छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताएका छन् । यो प्रदर्शनबाट नडराउन पनि उनले सरकारलाई भनेका छन् ।
लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल, योयो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौं ।’
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाले ज्यान गुमाउनु परेको थियो। सो घटनामा संलग्न भएको आरोपमा मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र महामन्त्री धवल शमशेर जबरासहितका नेताहरू प्रहरी हिरासतमा छन्। उनीहरूको रिहाइ, राजसंस्था पुन: स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राजावादीले प्रदर्शन गर्दै आएका छन्।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो