काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् ।
जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्नेगरी संवाद भइरहेको बताए ।
“आगामी वैशाख १५ भित्र एकता प्रक्रियालाई टुङ्गोमा पु¥याउने गरी छलफल भइरहेको छ”, जनमतका तर्फबाट गठित कार्यदलका संयोजकसमेत रहनुभएका उनले भने, “नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव ‘फाइनल’ भइसकेको छ । हाल पार्टीको विधान लेख्ने काम भइरहेको छ, पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी छ ।”
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुङ्ग्याउनेगरी छलफल भइरहेको जानकारी दिइन् । उनले कार्यदल तहमा छलफल भइरहेको र कार्यदलको निचोडलाई अन्तिम रूप दिइने बताइन् । “पार्टी एकीकरणलाई टुङ्गो लगाउन कार्यदल तहमा छलफल भइरहेको छ, त्यहाँको निर्णयअनुरुप दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरणलाई अन्तिम रूप दिनेछौँ”, अध्यक्ष श्रेष्ठले भनिन् ।
जनमत पार्टीका प्रवक्ता डा शरद् सिंह यादवले पनि पार्टी एकीकरण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताए । “पार्टी एकीकरणका लागि दुवै पार्टीबाट गठित कार्यदलको बैठक र छलफल चलिरहेको छ”, उनले भने, “केही कुरा मोटामोटी सहमति पनि भइसकेको छ, उदाहरणका रूपमा पार्टीको नाम, नेतृत्व र पदाधिकारीको विषयमा करिब सहमति बनिसकेको छ । बाँकी विषयलाई कार्यदलको तहबाट चाँडै टुङ्ग्याएर पार्टी एकीकरणलाई पूर्णता दिइनेछ ।”
प्रारम्भिक समझदारीअनुसार पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको जनाइएको छ ।
विसं २०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । सो पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । जनमत र नाउपाले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा पहिलोपटक भाग लिएका थिए । हाल संसद्मा जनमतका छ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद रहेका छन् ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै