काठमाडौँ । गृह मन्त्रालयले राजावादी समूहको आन्दोलन यो हदसम्म जाने अनुमान नगरिएको जनाएको छ ।
शुक्रबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव छविराज रिजालले एउटा राजनीतिक पार्टी संलग्न भएकोले यस्तो हदसम्म आन्दोलन जाने अनुमान नगरिएको बताएका हुन् ।
उनले भने, ‘एउटा राजनीतिक दलसमेत सहभागी भएको आन्दोलन यो हदसम्म जाँदैन भन्ने अनुमान थियो ।’ सहसचिव रिजालले सुरक्षाकर्मीतर्फबाट निश्चित मापदण्डअनुसार बल प्रयोग गरिएको बताए ।
तीनकुनेमा शुक्रबार गरिने भनिएको सभामा सहभागी हुने क्रममा राजावादी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान भइसकेको छैन् । झडपमा १५ जना प्रहरी र एक दर्जन प्रदर्शनकारी घाइते भएका सहसचिव रिजालले जनाए ।
तीनकुनेमा गोली लागि घाइते भएकाको त्रिवि शिक्षण अस्पतालमा लगिएकामा मृत्यु भएको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।
प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो ।
प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो