काठमाडौँ । गृह मन्त्रालयले राजावादी समूहको आन्दोलन यो हदसम्म जाने अनुमान नगरिएको जनाएको छ ।
शुक्रबार साँझ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव छविराज रिजालले एउटा राजनीतिक पार्टी संलग्न भएकोले यस्तो हदसम्म आन्दोलन जाने अनुमान नगरिएको बताएका हुन् ।
उनले भने, ‘एउटा राजनीतिक दलसमेत सहभागी भएको आन्दोलन यो हदसम्म जाँदैन भन्ने अनुमान थियो ।’ सहसचिव रिजालले सुरक्षाकर्मीतर्फबाट निश्चित मापदण्डअनुसार बल प्रयोग गरिएको बताए ।
तीनकुनेमा शुक्रबार गरिने भनिएको सभामा सहभागी हुने क्रममा राजावादी र प्रहरीबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान भइसकेको छैन् । झडपमा १५ जना प्रहरी र एक दर्जन प्रदर्शनकारी घाइते भएका सहसचिव रिजालले जनाए ।
तीनकुनेमा गोली लागि घाइते भएकाको त्रिवि शिक्षण अस्पतालमा लगिएकामा मृत्यु भएको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।
प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सांघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो ।
प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले व्यवसायीलाई दुर्गा प्रसाईंलाई आन्दोलनमा जनपरिचालनको जिम्मा दिएको छ । उक्त आन्दोलनमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको समेत साथ रहेको छ ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?