काठमाडौं । सरकारले संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास थालेको छ । त्यसको तयारीस्वरूप प्रमुख दलका शिर्ष नेताहरूबीच सोमबार अपरान्ह बैठक डाकिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार, बैठकको मूल एजेन्डा संक्रमणकालीन न्यायकै विषयवस्तु हो ।
‘यसअघि सर्च कमिटि गठन भएपछि काम हुन सकेन, त्यसको म्याद सकिएपछि सबै प्रक्रिया अवरुद्ध छ,’ पूर्वमहान्यायाधीवक्ता समेत रहेका खरेलले भने, ‘अस्ति जहाँबाट प्रक्रिया रोकिएको थियो, त्यसलाई अघि बढाउनेबारे छलफल गर्न बैठक डाकिएको हो । बाँकी कुरा उहाँहरूले अघि बढाउनुहुन्छ होला ।’
संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधनपछि सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्यहरू छनोट गर्न समिति गठन गरेको थियो ।
कुनै निर्णय गर्न नसकेका बेला समितिको म्याद सकिएपछि सबै प्रक्रिया अवरुद्ध भएको थियो । ‘संक्रमणकालीन न्याय छिटो टुंग्याउने विषय हो, यसलाई लम्ब्याउनु हुँदैन भन्नेमा सबै नेताहरु एकमत देखिनुहुन्छ,’ खरेलले भने, ‘तर त्यो समितिको म्याद सकिएपछि अरू प्रक्रिया अघि नबढेकाले प्रक्रिया अवरुद्ध भयो, त्यसलाई गति दिनुपर्छ भनेर बैठक बोलाइएको हो ।’
कुनै एजेन्डा तय नभएपछि सोमबारको बैठकमा अर्को समिति गठन र त्यही सेरोफेरोको विषयमा छलफल हुने खरेलले बताए ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?