काठमाडौँ । सोमबार गएराति काठमाडौंबाट बरामद २५ करोड १९ लाख २४ हजार ९ सय ५० रुपैयाँ बराबरका डलरको ‘नेक्सस’ सुन कारोबारसँग जोडिएको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ ।
राति ११ बजेतिर काठमाडौंको टोखाबाट बरामद डलर र युरो कहाँ र कसरी संकलन भएको थियो भन्ने प्रश्न उब्जिएको छ । सुन किन्नकै लागि पठाउन लागिएको प्रारम्भिक सूचना मिले पनि त्यतिका धेरै रकम कसरी जम्मा गरियो भन्ने प्रश्नको उत्तर नमिलेको प्रहरीका केही अनुसन्धान अधिकारीले बताएका छन् ।
केहि वर्ष (५ वर्षअघि) ७ किलो अवैध सुन तस्करीको आरोपमा पक्राउ परी २०७८ पुसमा नख्खु कारागारबाट कैदमुक्त भएका कुसाङ लामा यो घटनामा पक्राउ परेका एक मात्रै व्यक्ति हुन् । प्रहरीका अनुसार यस अघिको घटनामा उनीसहित चार जना पक्राउ परेका थिए । त्यतिबेला पनि उनी भरियाका रुपमा जोडिएको अनुसन्धानबाट देखिए पनि त्यो सुनको मालिक को हुन् भन्ने खुलेको थिएन ।
प्रहरीले यतिका धेरै युरो र डलर नेपाली बजारबाटै संकलन गरेर जम्मा गरिएको हो कि भारतबाट पनि ल्याइएको हो भन्ने कोणबाट अनुसन्धान अघि बढाएको छ । केहि सूचनाको विश्लेषणबाट यति धेरै विदेशी मुद्रा सुन किन्नकै लागि लैजान लागिएको निष्कर्ष नजिक प्रहरी पुगेको छ ।
प्रहरीका अनुसार युरो र डलर काठमाडौंमा जम्मा गरिएको हो भने कहाँ र कसरी जम्मा भयो र यसमा कोको संलग्न छन् भन्ने प्रश्न उब्जिएको छ । ‘भारतबाट पो यतिका धेरै विदेशी मुद्रा ल्याइएको हो कि वा भारतीय व्यापारीलाई अवैध सुन बेचेर हात परेको रकम हो भन्ने कोणबाट पनि अनुसन्धान थालिएको छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने ।
२५ करोड रुपैयाँभन्दा बढीको युरो र डलर ट्रकबाट बरामद भएको हो । सो ट्रक झन्डै २० दिनसम्म स्वयम्भूतिरको ग्यारेजमा राखिएको र त्यहीँ फल्स बटम बनाएर रंगरोगन गरिएको सूचना प्रहरीले प्राप्त गरेको छ ।
लामाले भने प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले थानकोटमा ट्रक लिएको र व्यापारीहरुले भनेअनुसार कपडा लिनका लागि रसुवागढी जान लागेको बताएका छन् । प्रहरीले पक्राउ गरेको ट्रक लामाको आमाको नाममा देखिए छ ।
एक अनुसन्धान अधिकारीले भने ‘लामाको पृष्ठभूमि, आर्थिक अवस्था र उनको सम्पर्कको जालो केलाउने काम भइरहेको छ’ ।
सम्वन्धित समाचार
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत
राप्रपाको प्रदर्शन सकियो, नेताहरु पक्राउ परेपछि आकस्मिक बैठक बोलाइयो
१९ दिनदेखि शिक्षकको आन्दोलन जारी
काठमाडौंमा सुरक्षा व्यवस्था कडा, एआईजी तामाङ भन्छन्– निषेधित क्षेत्र तोड्न दिँदैनौं
आन्दोलनरत शिक्षकलाई प्रधानमन्त्रीले बोलाए साँझ ७ बजे
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउनू:- देउवा