काठमाडौं । अमेरिकी ‘सरकारी दक्षता विभाग’का निर्देशकसमेत रहेका खर्बपति इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा गरेका छन् ।
आफ्नै सामाजिक सञ्जाल एक्समा विभिन्न पोस्ट गर्दै मस्कले यूएसएआईडी बन्द गर्ने प्रक्रिया थालिएको बताएका छन् ।
इलन मस्क भन्छन्— यो आपराधिक संगठन हो, यसको अन्त्य हुनुपर्छ ।
‘यो सुधार्नै नसक्ने अवस्थामा छ,’ मस्कले भनेका छन्, ‘हामी यसलाई बन्द गर्दै छौँ । यूएसएआईडी बन्द गर्ने प्रक्रियामा छौँ ।’ ट्रम्पले बन्द गर्ने निर्णयमा समर्थन जनाएको उनको भनाइ छ । एनबीसी न्युजका अनुसार यस कदमले संघीय प्रशासनविरुद्ध ट्रम्प र मस्कको संघर्षलाई सघन बनाएको छ । साथै, बजेट कहाँ र कसरी प्रयोग गर्ने भन्ने संसद्को संवैधानिक अधिकारलाई पनि चुनौती दिएको छ ।
संसदीय स्विकृतिबेगर संघीय निकाय बन्द गर्ने कानुनी अधिकार के हो भन्नेबारे मस्कले आफ्नो पोस्टमा केही पनि उल्लेख गरेका छैनन् । यो प्रक्रिया कहिलेदेखि शुरु गर्ने भन्ने पनि खुलाएका छैनन् । यस विषयमा ट्रम्पसँगै धेरैपटक छलफल भएको र यसमा राष्ट्रपतिको पूर्ण समर्थन रहेको मस्कको दाबी छ ।
यूएसएआईडीले एनजीओ/ आईएनजीओ, गैरनाफामूलक कम्पनी लगायतमार्फत पनि अनुदान परिचालन गर्दै आएको छ । केही दिनयता नेपालमा यूएसएआईडीको वेबसाइट बन्द छ । नेपालका लागि नियोगको डोमेन ब्राउज गर्दा ‘दिस साइट कान्ट बि रिच्ड’ भन्ने नोटिस देखिन्छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का कर्मचारीलाई पनि निलम्बन गरेका छन् । उनले यूएसएआईडीका दुई उच्च अधिकारीसहित धेरै कर्मचारीहरूलाई निलम्बित गरेका हुन् ।
निलम्बनमा पर्नेमा एजेन्सीका निर्देशक जोन वूर्हीज र उपनिर्देशक ब्रायन म्याकगिललगायत छन् । उनीहरूको इलन मस्क नेतृत्वको गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीसँग यूएसएआईडी सिस्टममा पहुँचको विषयमा विवाद भएको थियो ।
अहिले यूएसएआईडीको वेबसाइड बन्द गरिएको छ ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?