काठमाडौं । अमेरिकी ‘सरकारी दक्षता विभाग’का निर्देशकसमेत रहेका खर्बपति इलन मस्कले आफू र राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्न लागेको घोषणा गरेका छन् ।
आफ्नै सामाजिक सञ्जाल एक्समा विभिन्न पोस्ट गर्दै मस्कले यूएसएआईडी बन्द गर्ने प्रक्रिया थालिएको बताएका छन् ।
इलन मस्क भन्छन्— यो आपराधिक संगठन हो, यसको अन्त्य हुनुपर्छ ।
‘यो सुधार्नै नसक्ने अवस्थामा छ,’ मस्कले भनेका छन्, ‘हामी यसलाई बन्द गर्दै छौँ । यूएसएआईडी बन्द गर्ने प्रक्रियामा छौँ ।’ ट्रम्पले बन्द गर्ने निर्णयमा समर्थन जनाएको उनको भनाइ छ । एनबीसी न्युजका अनुसार यस कदमले संघीय प्रशासनविरुद्ध ट्रम्प र मस्कको संघर्षलाई सघन बनाएको छ । साथै, बजेट कहाँ र कसरी प्रयोग गर्ने भन्ने संसद्को संवैधानिक अधिकारलाई पनि चुनौती दिएको छ ।
संसदीय स्विकृतिबेगर संघीय निकाय बन्द गर्ने कानुनी अधिकार के हो भन्नेबारे मस्कले आफ्नो पोस्टमा केही पनि उल्लेख गरेका छैनन् । यो प्रक्रिया कहिलेदेखि शुरु गर्ने भन्ने पनि खुलाएका छैनन् । यस विषयमा ट्रम्पसँगै धेरैपटक छलफल भएको र यसमा राष्ट्रपतिको पूर्ण समर्थन रहेको मस्कको दाबी छ ।
यूएसएआईडीले एनजीओ/ आईएनजीओ, गैरनाफामूलक कम्पनी लगायतमार्फत पनि अनुदान परिचालन गर्दै आएको छ । केही दिनयता नेपालमा यूएसएआईडीको वेबसाइट बन्द छ । नेपालका लागि नियोगको डोमेन ब्राउज गर्दा ‘दिस साइट कान्ट बि रिच्ड’ भन्ने नोटिस देखिन्छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) का कर्मचारीलाई पनि निलम्बन गरेका छन् । उनले यूएसएआईडीका दुई उच्च अधिकारीसहित धेरै कर्मचारीहरूलाई निलम्बित गरेका हुन् ।
निलम्बनमा पर्नेमा एजेन्सीका निर्देशक जोन वूर्हीज र उपनिर्देशक ब्रायन म्याकगिललगायत छन् । उनीहरूको इलन मस्क नेतृत्वको गभर्मेन्ट एफिसिएन्सी डिपार्टमेन्टका कर्मचारीसँग यूएसएआईडी सिस्टममा पहुँचको विषयमा विवाद भएको थियो ।
अहिले यूएसएआईडीको वेबसाइड बन्द गरिएको छ ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
व्यापारीले ग्यास लुकाउन थालेपछि आयल निगम आफैंले बेच्न थाल्यो