काठमाडौं । आज सहिद दिवस । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए ।
विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।
पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ । विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।
सम्वन्धित समाचार
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै
मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा घट्यो-लयमा फर्किँदै अर्थतन्त्र