काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार पूर्वी पहाडी जिल्ला तेह्रथुम जाँदैछन् ।
उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान सैनिक हेलिकप्टरमार्फत् उनी त्यसतर्फ गएका हुन् । सोमबार उनले लालीगुराँस नगरपालिका–७ लसुनेस्थित शहीद धनरुपा पार्कको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
त्यसपछि आजै उनी तेह्रथुमको आठराई गाउँपालिका जानेछन् । आठराई वर्तमान प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलोसमेत हो । आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने कार्यक्रम छ ।
हाल आठराई गाउँपालिका-३, तत्कालीन ह्वाकु गाउँ विकास समितिमा पर्ने बगालेमा २०५८ माघ १४ गते आजकै दिन सुरक्षाकर्मीको गोली लागी १८ माओवादी सेनाका लडाकु र ३ सर्वसाधारण सामूहिक रुपमा मारिएका थिए ।
पाँचथरको गोपेटार प्रहरी चौकी आक्रणका क्रममा घाइते भएका निशस्त्र लडाकुहरु उपचार गराइरहेको स्थानमा सेनाले घेराहाली गोली चलाएको थियो । सोही सन्दर्भमा दाहाल सोमबार त्यहाँ आयोजित कार्यक्रमहरूमा सहभागी हुन लागेका हुन् ।
सोमबार दुई कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । उनी त्यहाँ रहँदा खाम्लालुङमा रहेको झाँक्री गुफा समेत अवलोकन गर्ने कार्यक्रम रहेको नेता रघु गौतमले जानकारी दिए ।
प्रचण्डले पञ्चायतको अन्तिम समयतिर तेह्रथुमको चुहानडाँडामा रहेको तत्कालीन शारदा माध्यमिक विद्यालयमा शिक्षकको नियुक्ति लिएका थिए । नियुक्ति पत्र लिएर सदरमुकाम म्याग्लुङसम्म पुगेका उनी विद्यालय धेरै टाढा र विकट ठाउँमा रहेको थाहा पाएपछि फर्किएका थिए ।



सम्वन्धित समाचार
आगामी निर्वाचनमा २ लाख कर्मचारी परिचालन हुँदै
विशेष महाधिवेशन बन्दसत्रमा सभापति देउवा जाने कुनै कार्यक्रम छैन : सचिवालय
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु: यस्तो छ, कार्यतालिका
कांग्रेस विशेष महाधिवेशनको पक्षमा ६२ प्रतिशत प्रतिनिधिद्वारा हस्ताक्षर
कांग्रेसभित्रको झगडा होइन, विचार र मान्यताको संघर्ष हो: गगन
जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव, संरक्षकमा ठाकुर