काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ ।
अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए । त्यसबापत राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
त्यसरी हाउजिङ कम्पनीलाई लाभ दिलाए बापत मोहन बस्नेतले आफ्नो बैंक खातामा २ करोड १५ लाख रुपैयाँ घुस पाएको अख्तियारको आरोप छ । अख्तियारले मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी गरेको छ ।
त्यस्तै, शंकर होटलमा मोहन बस्नेतले गरेको पार्टीको रकम समेत राजु कँडेलले तिरिदिएका अख्तियारको आरोपत्रमा उल्लेख छ । पार्टी गरेबापत करिब २५ लाख रुपैयाँ भुक्तानी भएको थियो ।
अख्तियारले मोहन बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको छ ।
अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।
मेयर बस्नेतले पदको दुरुपयोग गरी स्थानीयहरुलाई सस्तोमा जग्गा बिक्री गर्न लगाएका थिए। पछि राजु कँडेलले प्लटिङ गरेर महंगोमा जग्गा बिक्री गरेको र त्यसबापत बस्नेतले लाभ पाएको अख्तियारको आरोप छ ।




सम्वन्धित समाचार
प्रधानमन्त्री शाहले आज संसदमा सम्बोधन गर्दै
पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि उपत्यकाबाहिर एलपी ग्यास भरिँदै
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित