काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ ।
अख्तियारका अनुसार ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएका थिए । त्यसबापत राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
त्यसरी हाउजिङ कम्पनीलाई लाभ दिलाए बापत मोहन बस्नेतले आफ्नो बैंक खातामा २ करोड १५ लाख रुपैयाँ घुस पाएको अख्तियारको आरोप छ । अख्तियारले मोहन बस्नेतकी पत्नी उर्मिलाको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी गरेको छ ।
त्यस्तै, शंकर होटलमा मोहन बस्नेतले गरेको पार्टीको रकम समेत राजु कँडेलले तिरिदिएका अख्तियारको आरोपत्रमा उल्लेख छ । पार्टी गरेबापत करिब २५ लाख रुपैयाँ भुक्तानी भएको थियो ।
अख्तियारले मोहन बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोप लगाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको छ ।
अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।
मेयर बस्नेतले पदको दुरुपयोग गरी स्थानीयहरुलाई सस्तोमा जग्गा बिक्री गर्न लगाएका थिए। पछि राजु कँडेलले प्लटिङ गरेर महंगोमा जग्गा बिक्री गरेको र त्यसबापत बस्नेतले लाभ पाएको अख्तियारको आरोप छ ।
सम्वन्धित समाचार
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
आन्दोलनरत शिक्षकका मागबारे प्रधानमन्त्री र शिक्षामन्त्रीबीच छलफल
ताप्लेजुङ घटनामा मृत्यु भएका सबैको सनाखत