काठमाडौं । नेकपा एमालेले नेताहरू भीम रावल, स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारबाही गरेको छ ।
बुधबार बसेको सचिवालय बैठकले रावललाई साधारण सदस्यबाट समेत निष्कासन गरेको हो भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरेको हो ।
आज बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेसंगै उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो ।
‘कमरेड भीम रावल महाधिवेशनमा अध्यक्षमा उम्मेदवार हुनुभयो, उपाध्यक्षका निम्ति आग्रह गरिएको कुरालाई मान्नुभएन । त्यसपछि केन्द्रीय सदस्यमा पनि नआउनु भएपछि हाम्रो वैधानिक व्यवस्था अनुसार सल्लाहकारमा रहनुभयो’ ज्ञवालीले भने, ‘त्यो सल्लाहकारको जिम्मेवारी पनि पूरा गर्नुभएन । र, अभिव्यक्तिहरू चाहिं पार्टी बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएको हुनाले संगठित सदस्यबाट मुक्त गर्ने निर्णय भएको छ ।’
व्यवसायी मीनबहादुर गुरुङबाट केन्द्रीय कार्यालय बनाउन एमालेले दान लिएको विषयलाई आलोचना गरेको र त्यसप्रति असहमति जनाउँदै सामाजिक संजालमा उल्लेख गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको बताइएको छ ।
पाण्डे र तिमल्सेनाले स्पष्टीकरण बुझाएपनि रावलले कुनै जवाफ दिएका थिएनन् । तर आजको सचिवालय बैठकले स्पष्टीकरण पत्र लेख्ने पाण्डे र तिमल्सेनालाई पनि ६ महिना जिम्मेवारीबाट हटाउने निर्णय एमालेले गरेको छ ।
स्पष्टीकरण उहाँहरुले दिनु त भयो, तर उहाँहरुले रियलाइज गरेको यसरी पार्टीको विधि भन्दा बाहिर गएर सार्वजनिक रुपमा बोल्नु उचित भएन भन्ने कुराको रियलाइजेसन देखिएन’ ज्ञवालीले भने, ‘त्यसो भएको हुनाले उहाँहरुलाई पार्टीको निर्देशनमा चल्न थप निर्देशन गर्दै उहाँहरुको जिम्मेवारीबाट ६ महिना मुक्त गर्ने निर्णय गरिएको छ ।
बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामका बारेमा जानकारी , यसअघि सचिवालय, स्थायी कमिटी तथा पोलिट्व्युरो बैठकले गरेका निर्णय अनुमोदन र समसामायीक प्रस्ताव सहितका चार वटा एजेण्ड तयार गरेको ज्ञवालीले बताए ।
बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक पुष २१ र २२ गते बोलाउने निर्णय गरेको छ ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन ‘पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान’को अपिल
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित