काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ः१५ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
सुदूरपश्चिमले टस जितेर बलिङ रोज्दै कर्णालीलाई ब्याटिङको निम्तो दिएको छ । कर्णालीका रित गौतम पहिलो रोजाइँमा खेल्दैछन् । ६ खेलमा बेन्चमा बसेका रितले एनपीएलमा पहिलो पटक पहिलो रोजाइँमा मौका पाएका हुन् ।
लिगको प्लेअफ पुग्ने चार टोलीको टुङ्गो लाग्ने, प्लेअफमा क्वालिफायर र एलिमिनेटरको समीकरण तय हुने खेल भएकोले अन्तिम खेल भएपनि यस खेललाई निकै चासोको रुपमा हेरिएको छ ।
यस खेलपछि शीर्ष चार स्थानमा रहेर प्लेअफ पुग्ने टोलीको टुङ्गो लाग्नेछ । यस्तै शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने र एलिमिनेटर खेल्ने समिकरण पनि तय हुनेछ ।
अहिलेसम्म सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान पक्का गरिसकेका छन् । तर शीर्ष दुईमा कुन टिम हुनेछ तय भएको छैन । चितवनले पनि तेस्रो वा चौथोमा रहेर एलिमिनेटर नै खेल्ने लगभग तय छ ।
बाँकी एक स्थानमा कुन टिम हुनेछ त्यसका लागि सुदूर र कर्णालीबीचको नतिजा कुर्नुपर्नेछ ।
सुदूरपश्चिम ६ खेलबाट १० अंकका साथ शीर्ष स्थानमा छ । जनकपुर बोल्ट्स ७ खेलबाट १० अंक जोडेर दोस्रोमा छ । सुदूरको नेटरनरेट राम्रो रहेकोले बोल्ट्स भन्दा अघि छ ।
यस्तै चितवन र कर्णालीसँगै काठमान्डु गुर्खाजको पनि समान ८ अंक छ । चितवन र काठमान्डुले सबै ७ खेल खेलिसकेका छन् । ८ अंक हुने तीन टिम मध्ये नेटरनरेटका आधारमा अघि रहेपनि चितवनले प्लेअफमा स्थान बनाएको हो ।
अब कर्णाली याक्स र काठमान्डु गुर्खाजमध्ये एक टिमले प्लेअफमा स्थान बनाउँछ । अहिलेको अवस्थामा कर्णाली प्लेअफका लागि दाबेदार छ र होडमा अघि छ । किनभने काठमान्डु भन्दा कर्णालीको नेटरनरेट राम्रो छ ।
कर्णालीले सुदूरपश्चिमलाई पराजित गरेमा शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर नै खेल्ने सम्भावना छ । जनकपुर बोल्ट्सलाई पछि पार्द अंकतालिकामा दोस्रो हुन कर्णालीले सुदूरलाई १२ रन भन्दा बढीले पराजित गर्नुपर्नेछ । यस्तै लक्ष्य पछ्याएमा अवस्था हेरेर १५/१६ ओभरमा पूरा गर्नुपर्नेछ ।
सुदूरपश्चिमसँग कर्णाली ५३ रन भन्दा बढी अन्तरले पराजित भएमा भने काठमान्डुको भाग्य खुल्नेछ । यस्तोमा काठमान्डुले कर्णालीलाई नेटरनरेटमा पछि पार्नेछन ।
सम्वन्धित समाचार
प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै
भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने कुरामा विपक्षी दलहरू एक ठाउँमा
भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनाग्रस्त
खप्तड छान्नामा एकदिने आँखा शिविर सञ्चालन
अनेरास्ववियुको नेतृत्व चुन्न मतदान आज , कडरिया र पौडेल प्यानलसहित प्रतिस्पर्धामा
नेदरल्याण्ड्सविरुद्ध नेपाल पहिले ब्याटिङ गर्दै