काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले मंसिर ७ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर काठमाडौंमा हुने जनप्रदर्शनको तयारी तिव्र भइरहेको बागमती प्रदेश इन्चार्ज तथा जनप्रदर्शन समितिका संयोजक डा. राजन भट्टराईले बताए ।
यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र सरकारविरुद्ध देशभरी खबरदारी सभाको तयारीमा छ । राष्ट्रिय स्वतन्त्र पार्टी पनि सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोध राखेर पक्राउ गरेको भन्दै निरन्तर सडकमै उत्रिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि अब काठमाडौं केन्द्रित प्रदर्शन गर्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरुले सडकमा आन्दोलन अघि बढाएपछि एमालेले पनि प्रतिवाद गर्नको लागि शक्ति देखाउन लागेको हो ।
विपक्षी दलले दबाब बढाएपछि एमालेले उपत्यकाका तीन वटा जिल्ला कमिटी, चारवटा विशेष जिल्ला कमिटी र २३ वटा जनसंगठनबाट एक लाख काठमाडौंमा उतार्न लागेको हो ।
एमाले र एमाले नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरू सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्नको लागि एमालेले सडकमा शक्ति देखाउन लागेको हो ।
संयोजक भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानबिन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आआफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन् ।
एमालेले काठमाडौंमा जनप्रदर्शन गर्नुको पाँच कारण दिएको छ ।
पहिलो, राजनीतिक अस्थिरता र अराजकताविरुद्ध विधिको शासन र कानूनी राज्यका पक्षमा जनमत निर्माण गर्न,
दोस्रो, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न,
तेस्रो, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाको बारेमो जनतालाई स्पष्ट गर्न,
चौथो, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक कानूनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन,
पाँचौं, आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न, सत्तारुढ दल जनताको बीचमा जानै हुँदैन भन्ने नरहेकोले जागरणसभा गर्न लागेको महासचिव शंकर पोखरेलले बताए । जागरणसभाले प्रमुख दलहरूप्रति जनता असन्तुष्ट छन् भन्ने कुरा गलत हो भन्ने सन्देश दिने उनको भनाइ छ ।
उनले भने, ‘ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला कमिटीको अगुवाइमा जागरण अभियान कार्यक्रम हुँदैछ। उपत्यकामा नै आयोजना हुने कार्यक्रमकमा माध्यमबाट हामी यस्तो सन्देश दिन चाहन्छौं कि जनता असन्तुष्टि छन् भन्ने खालको कुरा जुन खडा गर्न खोजिएको छ । त्यो होइन, जनता प्रमुख दलहरुप्रति नै विश्वास र भरोसा गर्दछन्। र, उनीहरुबाटै सुधारको अपेक्षा गर्दछन भन्ने सन्देश दिनु पनि जरुरी छ। त्यो हिसाबले हामीले जुन सभाको आयोजना गर्न खोजेका छौं। जागरण सभा, त्यसको औचित्य त्यसले पुष्टि गर्छ।’
एमाले मुलुकको राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको प्रक्षपोषण गर्दै राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति, विधिको शासन र कानूनी राजको पक्षमा दृढ रहेको उल्लेख छ ।
सुशासन, विकास र समृद्धिलाई मुख्य आधार बनाएर समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्दै समाजवादको आधार निर्माण गर्नु मुख्य उद्देश्य भएको उनले बताए ।
सरकारले जनताको बीचमा गएर आफ्नो कुरा राखेर भ्रम चिर्ने परम्परा विश्वव्यापी रहेको जिकिर गरे ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा