काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले हरेक मतदाताको राजनीतिक आवद्धता विवरण संकलन गर्ने तयारी गरेको छ ।
राजनीतिक शक्ति सन्तुलन पत्ता लगाउन हरेक घरको मतदाता विवरण र तिनको राजनीतिक आवद्धता संकलन गर्ने तयारी गरेको हो । आगामी चुनाव–०८४ मा निर्णायक राष्ट्रिय शक्ति बन्ने लक्ष्य अन्तर्गत नै एमालेले हरेक मतदाताको राजनीतिक आवद्धता विवरण तयार पार्न लागेको हो । तर यो विवरण गोप्य राख्ने एमाले बताएको छ ।
‘उपचुनाव हुने क्षेत्रहरुमा यो अभियान सुरु भइसकेको छ । कुन घरमा कति मतदाता छन् र उसको राजनीतिक आवद्धता के हो भनेर पत्ता लगाइरहेका छौं’, एमाले पोलिटब्यूरो सदस्य विशाल भट्टराईले भने । उनका अनुसार, आगामी मंसिरमा उपचुनाव हुने क्षेत्रमा यो अभियान चलिरहेको छ । उपचुनाव हुने बाहेकका क्षेत्रमा भने आगामी फागुन र चैतमा यो अभियान चल्ने भट्टराईले बताए ।
एमाले संगठन विभागको योजना अनुरुप हरेक वडामा राजनीतिक पक्षधरता विवरण संकलन अभियान चल्न लागेको हो । ‘महासचिव शंकर पोखरेलसहितको उपस्थितिमै भएको संगठन विभागको बैठकले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रको निर्देशन बमोजिम जारी अपानिमा मतदाताको राजनीतिक पक्षधरता विवरण संकलनको नमूना फारम समेत पठाइएको छ । उक्त फारममा हरेक वडाको जम्मा मतदाता संख्यासहित एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा र अन्य पार्टीमा आवद्ध मतदाता विवरण भर्न भनिएको छ ।
‘मिसन ८४ को लक्ष्य पूरा गर्नको लागि यही मंसिर मसान्तभित्रमा सबै टोल अधिवेशनहरु समेत सम्पन्न गर्ने र घर-घरसम्मको कार्यविभाजन गरी हरेक घर परिवारको मतदाता संख्या र मतको एकिन गरी चालु आर्थिक वर्षको अन्तिम (असार मसान्त) सम्म शक्ति सन्तुलनको यकिन सर्वेक्षण तथ्याङ्कमा निम्न अनुसारको फर्म्याटमा पठाउन निर्देशन गरिएको छ’, अपानिमा भनिएको छ ।

कुल मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य एमालेले लिएको छ । गत वैशाख पहिलो साता सम्पन्न पहिलो विधान महाधिवेशनमा महासचिव पोखरेलले प्रस्तुत गरेको तथ्याङ्क अनुसार अगामी आमचुनावसम्म एमालेले ५ लाख नयाँ सदस्य थप्ने लक्ष्य राखेको छ ।
गत चुनाव–०७९ मा एक करोड ७९ लाख ७८ हजार मतदाता रहेकाले यसको ६ प्रतिशत अर्थात् १० लाख पार्टी सदस्य बनाउनुपर्ने लक्ष्य महासचिव पोखरेलले प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव विधान महाधिवेशनले पारित गरेपछि त्यसै बमोजिम एमालेको गतिविधि सञ्चालन भइरहेको छ ।
यो अभियानको उद्देश्य पार्टीको अवस्था कहाँ कमजोर छ, र कसरी सुधार्ने भन्ने प्रयोजनका निम्ति मात्र हामीले यो विवरण लिन लागेको बताएको छ ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?