एक सातामा विपद्का कारण अवरुद्ध बिपी राजमार्गमा पूर्ण रूपमा सवारी चल्छन्: गृहमन्त्री लेखक



काठमाडौँ ‍- गृहमन्त्री रमेश लेखकले आगामी एक साताभित्र डाइभर्सनसहित विपद्का कारण अवरुद्ध बिपी राजमार्गमा सवारी चलाउने व्यवस्था हुने बताउनुभएको छ ।
बाढी, पहिरो प्रभावित जिल्लाको स्थलगत अवलोकनका क्रममा आज बिहान सिन्धुलीको खुर्कोट प्रभावित क्षेत्रको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अति भारी वर्षाका कारण आएको विपद्बाट सबैभन्दा बढी क्षति भएको बिपी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा ल्याउन सडक विभाग र नेपाली सेना लागि रहेको बताउनुभयो ।
“ बिपी राजमार्गमा धेरै क्षति भएको छ, एक हप्ताभित्र डाइभर्सनसहित सवारी चलाउने व्यवस्था हुन्छ ।” उहाँले भन्नुभयो–“ यहाँका अवरुद्ध भित्री सडक सञ्चालनदेखि पुल निर्माणसम्म सेनाको धेरै ठुलो भूमिका देखिएको छ ।”
विपद्को पीडालाई सम्बोधन गर्न सरकार लागि परेको बताउँदै गृहमन्त्री लेखकले जतिसक्दो चाँडो यो समस्याबाट पार पाउन सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
“ यो समस्यामा कहाँ जाउँला के गरुँला ? यो नसोच्नुहोला ।” उहाँले भन्नुभयो–“ सरकार छ, सरकार भनेको सबैको अभिभावक पनि हो ।”
विपद्को समस्या सबै मिलेर समाधानमा जुट्नुपर्नेमा जोड उहाँको थियो ।
“ यसमा कुनै राजनीति छैन, कुनै पक्ष विपक्ष छैन ।” उहाँले भन्नुभयो–“ तीन वटै सरकार, सबै राजनीतिक दल, गैरसरकारी संस्था सबै मिलेर हामीले यो विपद्पछिको समस्या समाधान गर्नु छ ।” मन्त्री लेखकले पालिकाहरूलाई तत्काल लाभग्राही विवरण पठाउन आग्रह समेत गर्नुभयो ।
“ लाभग्राहीको विवरण आएको तीन दिनभित्र तत्काल राहतका लागि रु १५ देखि २० हजार र अस्थायी आवास निर्माणमा पहिलो किस्ता स्वरूप २५ हजार दिन्छौँ ।” उहाँले भन्नुभयो–“ त्यसका लागि प्रभावित जिल्लाका पालिकाहरू चाँडो लाभग्राही विवरण पठाइदिनु प¥यो ।”
सिन्धुली, सिन्धुपाल्चोक र ललितपुरको केही क्षेत्रमा गृहमन्त्री लेखकसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देल सहितको टोली बाढी पहिरो प्रभावित क्षेत्रको अनुगमन गरिरहेको छ । यसअघि गृहमन्त्री लेखकले काभ्रेपलान्चोक र ललितपुरको गोदावरी क्षेत्रको प्रभावित स्थल अनुगमन गर्नुभएको थियो ।
Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.