काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्बारे पूर्व सूचना र तयारीले क्षतिलाई न्युनीकरण गर्न मद्दत पुगेको बताउनुभएको छ । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको सर्वदलीय बैठकमा उहाँले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताउनुभयो ।
‘विपद न्युनीकरण र विपद्को व्यवस्थापनमा दुई वटा चरण हुन्छ । एउटा विपद् पूर्वको सूचनाको विषय हो । पूर्वानुमान अनुसार सूचनाको सम्प्रेषण पनि भएको थियो । त्यो सूचनालाई आगामी दिनमा थप व्यवस्थित गर्न जरुरी छ,’ गृहमन्त्री लेखकले भन्नुभयो, ‘अर्को विपदको प्रतिकार्यको विषय हो । त्यसका लागि पूर्व तयारी नभएको होइन । सरकारले पूर्व तयारी गरेकाले नै क्षतिलाई न्युनीकरण गर्नका लागि सहयोग पुगेको छ । आगामी दिनमा यसलाई थप व्यवस्थित गरेर जान जरुरी छ ।’
गृहमन्त्री लेखकले सरकारले आज चार वटा कुरामा जोड दिएर जाने बताउनुभयो । ‘पहिलो खोजी उद्धारको विषय हो । हामीले मानिसहरुको खोजी गर्नुछ । दुःख र पीडामा रहेका मान्छेलाई उद्धार गर्नुछ । सँगसँगै राहत पनि अगाडि बढाउनु छ । घाइतेहरुको उपचार गर्नु छ । राजमार्ग चाँडोभन्दा चाँडो खोल्नुपर्ने छ । सरकार तत्काल यी चार कुरामा ध्यान दिएर अगाडि बढ्छ,’ उहाँले भन्नुभयो ।
बाढी र पहिरोबाट १४८ को मुत्यु, ५९ बेपत्ता र ६० जना घाइते रहेको गृहमन्त्री लेखकले बताउनु भयो । ३ हजार ३ सय ३६ जनाको सकुसल उद्धार गरिएको उहाँको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बलले सक्दोसम्म उद्धार राहतमा काम गरिरहेको भन्दै सरकारका अन्य निकायले समन्वयात्मक रुपमा काम गरिरहेको उहाँले बताउनु भयो ।
‘उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । चाँडो उद्धार गर्नुपर्नेको उद्धार भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘बालबालिका, सुत्केरी, अपांगता भएका व्यक्ति, वृद्धिहरुलाई प्राथमिकता दिएर उद्धार गर्न निर्देशन गरिएको छ । हरेक जिल्लादेखि केन्द्रसम्म उद्धारका लागि हटलाइनको व्यवस्था गरिएको छ ।’
डुवानमा परेका उपत्यका लगायत देशका सम्पूर्ण स्थानमा खाद्यान, खानेपानी, अस्थायी बसोबास, प्राथमिक स्वास्थ्य तथा महामारी नियन्त्रणका लागि सम्बन्धित निकायलाई निर्देशन गरिएको गृहमन्त्री लेखकले बताउनुभयो । नख्खु खोलामा केही मानिसका उद्धारबारे उठेको प्रश्नमा पनि गृहमन्त्री लेखकले प्रस्ट पार्नु भएको छ । ‘नख्खु खोलामा प्रहरी पुग्दै नपुगेको होइन । सेनाको हेलिकप्टर पनि त्यहाँ पु¥याउने कोसिस भएको हो । भिजिविलिटीका कारण सेनाको हेलिकप्टर जान सकेन । नेपाल प्रहरी र सशस्त्र प्रहरी गएका छन् । उद्धार गर्न गएका सशस्त्र प्रहरी बग्दा पौडेर उद्धार भएको छ । नख्खु खोलाको घटनामा उद्धार गर्न खोज्दा खोज्दै घटना भएका हो,’ उहाँले भन्नुभयो ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?