सदस्यलाई बुझाएपछि सहकारी जोगाउछन्



नेपाल कृषि सहकारी केन्द्रीय संघ हालै संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) को अवार्डबाट सम्मानित भएको छ । साना किसान कृषि सहकारीमार्फत ग्रामीण किसानसम्म पुर्याएको वित्तीय पहुँचका साथै खाद्य सुरक्षा र जलवायु परिवर्तनमा पुर्याएको योगदानको कदर गर्दै सम्मानित भएको अभियानको नेतृत्वमा छन् खेम बहादुर पाठक । नेपाल कृषि सहकारी केन्द्रीय संघ तथा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्षका रुपमा किसानलाई संगठित गर्दै उनीहरुको आर्थिक तथा सामाजिक उत्थानमा क्रियाशिल पाठक राष्ट्रिय सहकारी महासंघका संचालक समेत हुन् ।

आर्थिक मन्दीका कारण सहकारी क्षेत्र पनि नराम्रोसँग प्रभावीत भएको,सहरी क्षेत्रका कतिपय सहकारी संस्थाहरुले सदस्यको बचत समेत फिर्ता गर्न नसकेका बेला साना किसान कृषि सहकारी संस्थाहरुमा भने यो समस्या नरहेको पाठक वताउछन् । सहकारी संस्थाहरु ऐन, कानुन, सिद्धान्त अनुसार नचलाउँदा समस्यामा परेको र यो अवस्थामा आन्दोलन गर्नुभन्दा सदस्यहरुमा सहकारीप्रति जागरण ल्याउने काममा लाग्नुपर्ने उनको सुझाव छ । साना किसान सहकारी अभियान र नेपालको सहकारी आन्दोलनबारे केन्द्रीत रहि पाठकसँग गरेको कुराकानीको सम्पादित अंश:

आर्थिक मन्दीका कारण सबै क्षेत्रहरु प्रभावित भइरहेका छन् । यो बेला साना किसान कृषि सहकारीहरुको अवस्था कस्तो छ?

विश्व्यापी रुपमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि प्रायः सबै क्षेत्रमा देखिन थालेको छ । जसले गर्दा सामान्य अवस्थामा जस्तो सहज रुपमा सहकारी संस्था चलाउन सजिलो पनि छैन । संस्था चलाउनका लागि धेरै मेहेनत गर्नुपर्ने अवस्था छ ।

तर, यो वित्तीय संकटमा पनि साना किसान कृषि सहकारी संस्थाहरु भने सदस्यलाई शेयर, बचत रकम फिर्ता गर्न नसक्ने र लगानी नै नगर्न अवस्थामा छैनन् । किसानहरुको समस्या समाधान गर्ने हिसावले हामी अघि बढिरहेकै छौं ।

यो अवस्थामा साना किसान कृषि सहकारीहरुलाई सवल बनाउन वित्तीय संस्था र संघले कस्तो भूमिका निर्वाह गरिरहेको छ त ?

साना किसान लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघको सदस्यहरु भनेका तल्लो तहका सहकारी संस्थाहरु नै हुन् । यी संस्थाहरुको विकास र प्रवद्र्धनका लागि दुई वटा निकायले आ–आफ्नो पाटोबाट भूमिका निर्वाह गरिरहेका छन् । वित्तीय संस्थाले वित्तीय पाटो हेर्छ भने संघले गैरवित्तीय सेवा हेर्छ ।

संस्थाहरुमा संस्थागत विकास गराउने, संचालक, कर्मचारी र सदस्यहरुका लागि तालिम शिक्षा व्यवस्था मिलाउने काम भएको छ । अप्ठेरो बेलामा पनि संस्थाहरुलाई जोगाएर लैजानुपर्छ भनेर मान्यताले काम गरिरहेका छौं । त्यसका लागि निरन्तर अनुगमनका काम भइरहेका छन् ।

कुनै कमजोर संस्था छन् भने उनीहरुका कुन कुन सूचक कमजोर छन् त्यही अनुसारको जनशक्ति खटाएर सुधारका कार्यक्रम पनि गर्दै आएका छौं । अहिले नेपालको सहकारी अभियानमा देखिएका समस्याहरु विश्लेषण गर्दा सदस्यलाई संस्थाको बारेमा जानकारी नगराउने, संस्थाप्रति उत्तरदायी नगराउने, यो संस्था मेरो हो भन्ने भावना जागृत नगराउने जस्ता कारणहरु भेटिन्छन् ।

त्यसैले संस्थाका संचालक र कर्मचारी लगाएर आम सदस्यलाई पढाउनुपर्छ । पढाउने भनेको एक पटक मात्र होइन, तीन–तीन महिनामा पायक पर्ने ठाउँमा पढाउनुपर्छ । सदस्यले संस्था मेरो भन्यो भने कहिल्यै बिग्रदैन। अहिले त संस्था केही संचालक र कर्मचारीले ठेक्कामा चलाउने भएर बिग्रिएको हो ।

कृषि विकास बैंकबाट साना किसान आयोजनाका रुपमा सुरु भएको साना किसान अभियानको वर्तमान अवस्था कस्तो छ त ?

हामी योजनावद्ध रुपमा अघि बढिरहेका छौं । साना किसान लघुवित्त वित्तीय संस्था र नेपाल कृषि सहकारी केन्द्रीय संघको रणनीतिक योजना र व्यवसायीक योजना बनाएका छौं । त्यो मात्र नभइ सबै संस्थाहरुको आफ्नै व्यवसायीक योजना पनि छ । योजना बनाएर हिड्यो भनेमात्र ठिक ठाउँमा पुग्न सकिन्छ भन्ने हाम्रो मान्यता हो ।

सदस्यलाई आर्थिक तथा सामाजिक रुपले अघि बढाएन भने संस्था बलियो हुदैन ।  संस्था बलियो बनाएर भने संघ पनि बलियो हुदैन । छाता निकाय बलियो हुन संस्थाको सदस्यलाई आर्थिक रुपले बलियो बनाउनुपर्छ । त्यसैले अहिले फोकस गरेको विषय भनेको सदस्यहरुलाई आयआर्जन हुने उत्पादनमुलक व्यवसायमा लगानी गर्नुपर्छ भन्ने नै हो ।

पैसा सहि ढंगले लगानी भयो या भएन भन्ने कुरा दुवैले ध्यान पुर्याएका छौं । लगानी ठिक ठाउमा गयो कि गएन भनेर हेर्नुपर्छ । उनीहरुले फिर्ता गर्न सक्ने अवस्था छ या छैन यो कुरालाई ध्यान पु¥याएर फलो गरिरहेका छौं । संस्थाहरुको अनुगमन निरिक्षणको काम पनि तिब्र रुपले गरिरहेका छौं । जसले गर्दा कुन संस्थाको अवस्था के छ ? कमी कमजोरी जानेर गरे कि नजानेर गरे भन्ने थाहा हुन्छ ।

नजानेर गरेको भए सिकाउन पाइयो । जानजान गरेको भए सजग गराउन पाइयो,दोहोर्याइ तेहेर्याइ गरेको भए कारवाही गरेर ट्र्याकमा ल्याउन पनि सकिन्छ । हामीले सदस्यलाई व्यवसायी र उद्यमी बनाउनका लागि कर्जाहरु प्रवाह गरेका छौं । त्यही किसिमको तालिमहरु पनि दिइरहेका छौं ।

यसले रिजल्ट पनि राम्रो आइरहेको छ । एसियाली विकास बैंकले पनि कार्यस्थलमा पुगेर अनुगमन गरेपछि हाम्रो कामलाई पुरस्कृत गरेको छ । अहिले समाजमा ऋण तिर्न पर्दैन भन्ने एक प्रकारको भ्रम छ, अफवाह छ, त्यसलाई पनि चिर्नपर्यो।

सदस्यहरुलाई जगाएर यो मेरो संस्था हो, मैले तिर्नपर्छ यसको घाटा नाफा मेरो हो भन्ने हिसावले गएका छौं । साना किसान कार्यक्रमलाई नेपालको आशालाग्दो कार्यक्रमका रुपमा स्थापित गर्नुपर्छ भन्ने हिसावले अगाडी बढाएका छौं ।

कारोबार अवस्था के छ ?

हामी एक वर्षमा ५० वटासम्म संस्था बनाएर नेटवर्कमा ल्याएर जोड्छौं ।  कहीपनि वित्तीय पहँच नभएका ठाउँमा साना किसानको नेटवर्क पु¥याउन  सरकारले पनि सहयोग गरेको छ । अहिले साना किसान लघुवित्त वित्तीय संस्थामा अरु सहकारी संस्थाहरुसहित एक हजार ३ सय संस्थाहरु आवद्ध छन् । यस्तै नेपाल कृषि सहकारी केन्द्रीय संघमा १ हजार २ सय सदस्यहरु छन् ।

केन्द्रीय संघको नेटवर्कमा १२ लाख किसान जोडिएका छन् । उनीहरुको ६५ अर्ब पुँजी सहकारीमा जम्मा भएको छ । लघुवित्तमार्फत ३२ अर्ब परिचालन भएको छ । कुल एक खर्ब हाराहारीमा पुँजी किसानको हातमा पुर्याएका छौं । यस आर्थिक वर्षबाट ७५ वटै जिल्लाबाट पुग्छौं । अहिलेसम्म ७२ प्रतिशत स्थानिय तहमा पुगेका छौं ।

यसपालिको बजेटमा सबै स्थानिय तहमा पुर्याउने गरी कार्यक्रम घोषणा भएको छ । हामी पनि सबै जिल्ला र स्थानिय तहमा कार्यक्रम पु¥याउन लागिरहेका छौं । अब साना किसान लघुवित्त वित्तीय संस्थामा आरएमडीसी मर्जर भएपछि अझ शसक्त हुन्छौं ।

साना किसान कृषि सहकारीमार्फत ग्रामीण भेगमा वित्तीय पहुँच त पुगेको छ । तर कृषिको नाममा बचत ऋणको मात्र कारोबार भयो, सहकारी ऐनको व्यवस्था अनुसार मुख्य कारोबार त मिलेन नि ?

सहकारी ऐनमा मुख्य कारोबारको हिसावले मुख्य विषय अनुसार कारोबार हुनुपर्छ भनेको छ । त्यो हिसावले हामी कृषिमा सहकारीमै पछौं । नाम कृषि राखेपछि काम कृषि भएको छ कि छैन, कतै पैसा किनबेचको मात्र काम भएको छ कि ? बैंकले, अरु बचत तथा ऋण वा बहुउद्देश्यीयले गरेको जस्तो मात्र काम भएको छ कि ? भन्ने विषय उठेको छ ।

हामी शहरमा होइन, ग्रामीण क्षेत्रमा बसेर काम गरेका छौं । ग्रामीण क्षेत्रका किसानलाई जनतालाई सहकारी पढाएर संगठित गर्नु नै ठूलो कुरा हो । हामीले छरिएर बसेका किसानलाई संगठित गरेका छौं, त्यही संगठित किसानबाट पुँजी निर्माण गर्यौ, बल्ल हामीले नेटवर्क विस्तार गरिसकेपछि अब सबै पुँजी कृषिमा लगाएर सबै खाले कारोबार कृषिको हुनुपर्छ भन्ने हिसावले लागिरहेका छौं ।

हामी पनि अहिलेको नतिजाबाट सन्तुष्ट छैनौं। तर, तत्कालै सबै कृषिको मुख्य कारोबार गरेर सरकारले खोजेजस्तो कारोबारको तथ्यांक दिन सक्ने अवस्थामा छैनौं । अहिले त सहकारीलाई सुशासनमा ल्याउन सहकारीको मर्म भावना अनुसार चलाउने, सेयर किन्ने र बचत राख्नेलाई ढुक्क बनाउने, त्यसका लागि आम सदस्यलाई यो संस्था मेरो हो, मैले नै चलाउने, म यहाँको मालिक हो भन्ने बनाउने अभियान चलाएर सन्तुष्टीमा पुगेका छौं ।

अब हामी यतिले मात्र हुदैन संस्था पनि व्यवसाक बन्नुपर्छ, संस्थाले पनि उद्योग चलाउनुपर्छ, उद्योग र कृषिका व्यवसाय गर्ने, सदस्यहरु पनि उद्यमी बन्ने कुरामै हामो फोकस छ । एउटा संस्थामा कति जना उद्यमी बनाउने भनेर हामी प्लान बनाएर लागेका छौं ।

अहिलेसम्म हाम्रो पैसा कृषिमै गएको छ, बाख्रामा, गाईमा, भैसीमा लगानी भएको छ । उद्यमी बन्नेको संख्या ठूलो नहोला तर कृषिबाट गुजारा गर्ने किसानले सानो गर्जो टार्न साहु महाजनकहाँ जान पर्ने स्थिती अन्त्य गरेका छौं ।

यतिबेला सहकारी अभियान अप्ठेरोमा परेको भन्दै आन्दोलन समेत सुरु भएको छ । यसलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

मैले सहकारी महासंघ वा अन्य फोरमहरुमा पनि प्रष्ट रुपमा कुरा राख्दै आएको छुँ । हामीले सहकारी ठिक ढंगले चलाएका छैनौं । विधि विधान अनुसार चलाएनौं । केही नाम सहकारी, काम कम्पनी स्टाइलमा चलेका छन्, त्यो सहकारी एकदिन दुर्घटनामा पर्छ, हामी सबैले त्यो नराम्रो भोग्नुपर्छ भन्दै आएका थिए । अहिले त्यो अवस्था आएको छ ।

अहिले केहि आन्दोलन गर्नुपर्ने विषय पछि छन्, जस्तो सहकारी ऐन संसोधन, प्रवद्र्धन कोष परिचालन, सहकारी कर्जा सूचना केन्द्र स्थापनाका विषयहरु पनि छन् । बेला बेलामा कर बढाइरहेको विषयमा विरोध पनि ठिकै होला । तर, आन्दोलन ठिक ढंगले ठिक समयमा गर्नुपर्छ ।

यतिबेला सदस्यको पैसा हराएको, बचत फिर्ता नपाएको, संचालक बेपत्ता भएको, सदस्यहरु विचल्लीमा परेको दृश्य देखिरहेका बेला राम्रा सहकारीमा पनि असर पर्छ । यो समयमा आन्दोलन होइन, सदस्य पढाउन लाग्नुपर्छ ।

संचालक र कर्मचारी आन्दोलनमा जाने, सदस्यहरु बचत र सेयर फिर्ता माग्न जाने हो भने सहकारी जोगिदैन । सदस्यलाई सहकारी बुझाउन लाग्नुप¥र्याे । सदस्यलाई सहकारी मेरो हो भन्ने बनाएपछि संचालक र कर्मचारी रुवावासी गरेर हिड्न पर्दैन । सदस्यले नै सहकारी जोगाउछन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघले हालै संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) बाट अवार्ड पाएको छ । यसको कारण के हो ?

साना किसान कृषि सहकारी संस्थाहरु सुशासन कायम गरेर संचालन भएको संजाल रहेको र यो असल अभ्यासबाट चलेको भएकाले यसलाई एफएओले सम्मानित गरेको हो । हामी एउटा रामो संस्थाले गरेको असल अभ्यास अर्को संस्थामा पनि अनुसरण गछौं ।

यस्तै अहिले पर्यावरण र वातावरण जोगाउन र जलवायु परिवर्तन रोक्नका लागि समेत कृषि सहकारीहरुले ग्रामीण क्षेत्रमा बसेर गरेको काम गरेका छन् । यसलाई प्रवद्र्धन गर्न संघमार्फत वित्तीय र गैरवित्तीय सेवा दिदै आएका छौं । हामी यही भूमिकावापत सम्मानित भएका हौं ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही 9848222440
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.