धनगढी । नेपाली कांग्रेस र नेकपा एमालेका बहुमत प्रदेश सभा सदस्यहरुले माग गरेपछि सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए ।
प्रदेश प्रमुखको आह्वानअनुसार मंगलबार दिउँसो २ बजे विशेष अधिवेशनको पहिलो बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । सचिवालयका सचिव देवबहादुर बोगटीले बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची तय गरिएको जानकारी दिए । यो बाहेक मंगलबारको बैठकमा थप गतिविधि तय भएका छैनन् ।
सोमबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विशेष अधिवेशन किन बोलाइएको हो ? भन्ने विषयमा छलफल भएको थियो । प्रदेश प्रमुखको कार्यालयले पठाएको पत्रमा विशेष अधिवेशन बोलाइनुको कारण र उक्त अधिवेशनमा गर्ने गतिविधिबारे उल्लेख नगरिएको भन्दै एकपटक सोध्ने निर्णय भएको छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा एकीकृत समाजवादी भने सहभागी थिएन ।
संघमा राजनीतिक समीकरण फेरिएर कांग्रेस-एमालेको गठबन्धन बनेपछि सुदूरपश्चिममा २० असारमा एकीकृत समाजवादीका मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारबाट बाहिरिएको थियो ।
एमाले बाहिरिएसँगै अल्पमतमा परेका सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि प्रदेश बजेट शून्यतामा गएको छ ।
सरकारले २९ असारमा प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो तर प्रदेश प्रमुखले पाँच दिनपछि ३ साउनमा अधिवेशन आह्वानसम्बन्धी सिफारिस कार्यान्वन गरेका थिए भने भोलिपल्ट नै विशेष अधिवेशन आह्वान गरेका थिए ।
प्रदेश प्रमुखले चालेको यो कदमले अध्यायदेशबाट बजेट ल्याउने मुख्यमन्त्री सोडारीको चाहाना रोकिएको छ ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै