ताप्लेजुङ। ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल)ले आफ्नो कार्यक्षेत्र भित्रका उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विधार्थी र कर्मचारीलाई पुरस्कृत गरेको छ । कार्यक्षेत्र भित्रका चार बिद्यालय, दुई व्यवस्थापन समिति र सातजना शिक्षक तथा बिद्यालय कर्मचारीलाई नगद सहित अवार्ड प्रदान गरेको हो ।
रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर बोगटीको उपस्थितिमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरि विभिन्न विद्याका पुरस्कार तथा अवार्ड वितरण गरिएको हो । अवार्ड वितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराई सहितको उपस्थिति रहेको थियो ।
संस्थाले २०८० सालको शैक्षिक गतिविधि,उत्कृष्टता र लगनशिलता सहितका क्षेत्रलाई आधार मानेर पुरस्कृत हुने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरुको छनौट गरिएको रीड नेपाल ताप्लेजुङका जिल्ला प्रबन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो।
उहाँका अनुसार फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित सरस्वती माध्यमिक विद्यालय र इखाबुस्थित रानी आधारभूत विद्यालय ‘बेष्ट पर्फमिङ विद्यालय’को रुपमा नगद ४५ हजार रुपैयाँ सहित पुरस्कृत भएका छन् । रानी आठौं पटक उक्त अवार्डद्धारा पुरस्कृत भएको हो । यसअघि एउटा विद्यालयमात्र ‘बेष्ट पर्फमिङ विद्यालय’को रुपमा पुरस्कृत हुने गरेकोमा यसपटक दुबै विद्यालयको छनौट मापन अंक बराबर भएकोले दुबैलाई छनौट गरी अवार्ड वितरण गरिएको पन्तले जानकारी दिनुभयो ।
पन्तका अनुसार सिरिजङ्गा गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजंघा माध्यमिक विद्यालय र फक्ताङलुङ गाउँपालिकाको इखाबुस्थित सुनदेवी माध्यमिक विद्यालयले नगद ३० हजार रुपैयाँ सहित क्रमशः‘स्टार स्कुल अवार्ड’ र ‘एक्सिलेन्ट रिजल्ट स्कुल अवार्ड’ एसईई २०८० बाट पुरस्कृत भएका छन् । विद्यालय व्यवस्थापन समितितर्फ सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित गणेश माविका विव्यस अध्यक्ष नेत्रकुमार आचार्य र फक्ताङलुङ गाउँपालिकाको इखाबुस्थित बिपुधाम आधारभूत विद्यालयका विव्यस अध्यक्ष इन्द्रप्रकाश लिम्बू नगद जनही ५ हजार रुपैयाँ सहित ‘एसएमसी अवार्ड २०८०’ बाट पुरस्कृत भएका हुन् ।
रीड नेपाल ताप्लेजुङका शिक्षा विकास अधिकृत रोमा लिम्बूका अनुसार स्रोत शिक्षकतर्फ सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित गणेश माविका प्र.अ. रामकुमार लिम्बू, खेवाङस्थित पाथीभरा महादेव आधारभूत विद्यालयका बिन्दुकला लिम्बू र फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित पार्वती माध्यमिक विद्यालयका कमलकुमार हेल्लोक नगद ५ हजार रुपैयाँ सहित ‘आरएलटी अवार्ड २०८०’ बाट पुरस्कृत भएका छन् । चार जनाले प्राप्त गर्ने ‘स्टार टिचर अवार्ड २०८०’ बाट सिरिजङ्गा गाउँपालिकाको याम्फुदिनस्थित कञ्चनजंघा माध्यमिक विद्यालयका लक्ष्मीप्रसाद लिम्बू,फक्ताङलुङ गाउँपालिकाको बिपुधाम आधारभूत विद्यालयका बिरेशमान वनेम, इखाबुस्थित सुनदेवी माविका सन्तोष राई पुरस्कृत हुनु भएको छ ।
बाल विकास शिक्षकतर्फ सिरिजङ्गा गाउँपालिकाको खेवाङस्थित महेन्द्र आधारभूत बिद्यालयका रमादेवी बिक पुरस्कृत हुँदा विद्यालय कर्मचारीतर्फ फक्ताङलुङ गाउँपालिकाको तापेथोकस्थित सरस्वती माध्यमिक बिद्यालयका कार्यालय सहयोगी रनबहादुर लिम्बू पुरस्कृत भएका छन् । उहाँहरुले जनही नगद ५ हजार सहितको अवार्ड प्राप्त गरेका छन् भने छात्रवृत्ति बितरणको यो आठौं संस्करण रहेको रीड नेपाल ताप्लेजुङले जनाएको छ ।
रीड नेपाल विगत १६ वर्षदेखि ताप्लेजुङको शैक्षिक क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आएको संस्था हो । फक्ताङलुङ गाउँपालिकाको वडा नं ४ इखावु, वडा नं ५ तापेथोक, वडा नं ६ लेलेप र वडा नं ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ६ मामाङ्खे, वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिन मुख्य कार्यक्षेत्र रहेको छ ।
संस्थाले छात्रवृत्ति कार्यक्रम २०७० सालबाट सुरु गरेको थियो।



सम्वन्धित समाचार
“समावेशी, गुणस्तरीय र दिगो शिक्षा प्रणालीका लागि स्थानीय सरकारका शिक्षा प्राथमिकता”
“विद्यालय रूपान्तरणतर्फ बागमतीको कदम : १५० शिक्षकलाई बालमैत्री प्रशिक्षण”
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
नागरिक समाजको खबरदारी पत्र : ५ लाख रोजगारी र पर्यावरणीय समाजवादको माग
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’