काठमाडौँ : माथिल्लो लहरको बायाँबाट क्रमशस् एमाले सांसदहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्की । तल्लो लहरमा बायाँबाट क्रमशस् माओवादी सांसदहरु अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिक ।
२८ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम दिएको छ ।
एमालेले प्रदेशसभा सदस्यहरु सुरेन्द्रबहादुर पाल, वीरबहादुर थापा र हीरा सार्कीको नाम मुख्यमन्त्रीलाई दिएको स्रोतको भनाइ छ । यस्तै माओवादी केन्द्रले अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएको स्रोतले जानकारी दिएको छ ।
मुख्यमन्त्री सोडारीले स्वतन्त्र प्रदेश सभा सदस्य डा। तारादत्त जोशीलाई समेत सरकारमा सहभागी गराएर सोमबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार सोडारीले साँझ ५ बजे शपथ ग्रहणको व्यवस्था मिलाइदिन प्रदेश प्रमुखलाई आग्रह समेत गरिसकेका छन् । प्रमुख सत्ता साझेदार एमाले र माओवादी केन्द्रले सरकारमा पठाउने प्रदेश सभा सदस्यको नाम मुख्यमन्त्रीलाई बुझाएपनि मन्त्रालयगत भागबन्डा नमिल्दा समस्या भइरहेको छ ।
भौतिक पूर्वाधार, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्रयाएर मन्त्री नियुक्त गर्ने तयारीमा रहेका मुख्यमन्त्रीलाई सत्तारुढ दलभित्रैबाट मन्त्रालय विभाजन गर्न नहुने दबाब रहेको छ ।
नाउपा मन्त्रालय विभाजनको विपक्षमा
मुख्यमन्त्री सोडारीले भागबण्डा मिलाउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका बेला उनकै क्याबिनेटका मन्त्री विपक्षमा उभिएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले मन्त्रालय विभाजनमा सहमत हुन नसकिने अडान लिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षबाट सरकारमा गएका चौधरीले मन्त्रालय फुटाउनहुन्न भन्ने पक्षमा पार्टी र आफू रहेको बताए ।
‘हाम्रो कुरा मन्त्रालय फुटाउनुहुन्न भन्ने हो । त्यो गर्दा राज्यको व्ययभार बढ्छ । स्रोत, साधन जनशक्ति व्यवस्थापन गर्न गाह्रो हुन्छ’, चौधरीले भने, ‘मन्त्रालय टुक्रयाउने भए सरकारबाट बाहिर आउनुहोस् भन्ने खालका सुझाव पनि पार्टीबाट आइरहेका छन् ।’
अनलाइन खबर
सम्वन्धित समाचार
शिक्षा ऐनका लागि महासंघले २ साउनसम्म कुर्ने, पास नभए आन्दोलनमा जाने
सार्वजनिक निकायको सबै भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीमार्फत गर्नु: अर्थ मन्त्रालय
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
शिक्षामा एआईको प्रयोग: नेपालको शैक्षिक भविष्यका लागि एक महत्वपूर्ण आवश्यकता
थुलुङ दुधकोसीद्वारा रीड नेपाललाई सम्मान
नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष