काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेट व्यापारीको प्रभावमा परेर आएको बताएका छन् । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेपछि कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले व्यापारीको सेटिङमा स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाइएको आरोप लगाए ।
‘व्यापारीको सेटिङको प्रभावमा आलु, प्याज र स्वायमाथिको भ्याट हटाउने काम भयो,’ उनले भने । यस्तै स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएर स्वदेशी उत्पादन बढ्छ भन्नु सिँधै झुटो कुरा भएको उनको भनाइ छ । ‘हामीले आन्तरिक उत्पादनमा होइन भन्सारमा कर लगाउने भनेको थियौँ । भन्सारमा भ्याट लगाउँदा बाहिरबाट आउने उत्पादन महँगो हुन्छ र स्वदेशी उत्पादन प्रतिस्पर्धी हुन्छ भनेर लगाइएको थियो । त्यो हटाएपछि आन्तरिक उत्पादनले कसरी प्रतिस्पर्धा गर्छ ,’ महतले भने ।
सरकारले आफ्ना समर्थकहरूको क्षेत्रमा बजेट यथेस्ट विनियोजन गरेको भन्दै पुराना धेरै आयोजना अलपत्र हुने पूर्वअर्थमन्त्री महतले बताए । यद्यपि ठुलो बजेट बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाहनामा केही ब्रेक लागेको उनले बताए । ‘तर,पनि यो वास्तविकताभन्दा माथि छ । उहाँहरूले सुधारको प्रारम्भ गर्छौँ भन्नु भएको छ । बजेटरी प्रक्रियामा सुधारका केही पनि कुरा उल्लेख छैनन् । सबैभन्दा ठुलो बजेटमा जे बेथिति थियो । त्यसलाई हामीले कार्यविधि बनाएर ३ करोडभन्दा तलको आयोजना नराख्ने भनेका थियौँ । त्यसमा उहाँ मौन हुनुहुन्छ,’ महतले भने ।
३ करोडको कार्यविधिलाई वर्तमान सरकारले तिलाञ्जली दिइसकेको उनको बुझाइ छ । ‘यी कुराहरू हिँड्न छन् । सुधारको बाटोमा जाँदैछौँ भन्नु भएको छ । सुधार कहाँ गर्दै हुनुहुन्छ केही पनि थाहा छैन । बजेटरी सुधार हुने कुनै छनक देखेको छैन । बजेटका वितरणमुखी विषयवस्तु छोपिएको छ । कृषि क्षेत्रमा उत्पादनमा आधारित अनुदान दिने कुरा गरेका थियौँ । त्यो उहाँहरूले छोडिसक्नु भएको छ,’ उनले भने ।
वर्तमान सरकारको कार्यशैलीबाट विदेशी लगानी आउने सम्भावना रहेको महतले बताए । ‘हामीले धेरै आर्थिक वृद्धि हुन्छ भनेर नहौसिनुहोस् भनेका थियौँ । यद्यपि ६ प्रतिशत आर्थिक वृद्धिदर हुने सम्भावना छैन । सरकारले ६ प्रतिशत भन्नै हुँदैन भन्न मिल्दैन,’ उनी भन्छन् ।
बजेटमा उल्लेख भएका विषयबाट परिणाम आउने अवस्था नरहेको उनको भनाइ छ । ‘बनेटरी स्टिमलाई अनुशासनमा ल्याउने बाटोमा हामी जान खोजेका थियौँ । त्यो बाटोलाई अवरुद्ध गर्नु भएको छ । त्यसले नेपाल ठुलो अप्ठ्यरोमा पर्छ ,’ महतले भने । यो बजेट धेरै उत्साहित हुने ठाउँ नरहेको उनको भनाइ छ ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?