काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ । बैठक बिहान ११ बजे बस्नेछ । आइतबार पारित हुन नसकेको धन्यवादको प्रस्ताव पनि कार्यसूचीमा समेटिएको छ ।
कांग्रेसले भने गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनेसम्म नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने अडान राख्दै आएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यस्तै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय भएको छ ।
यस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने,उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेश गर्ने कार्यसूची रहेको छ ।
साथै उद्योगमन्त्री भण्डारीले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८०’ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।



सम्वन्धित समाचार
१८ दिनपछि खुल्यो कृष्णभीरको सडक,
शोक, आक्रोश र प्रश्नको गीत ‘ए नदी, ए हिमाल’
महाधिवेशन एक दिन पनि तलमाथि हुँदैन : गगन थापा
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण
उद्योगमन्त्रीमा सुनसरी-४ का सांसद दीपक कुमार साह नियुक्त हुँदै
अस्पतालबाट गर्भवती महिला निकालिएकोबारे मन्त्रालयले माग्यो स्पष्टीकरण, छानबिन टोली राजविराज जाँदै