यतीखेर नेफ्स्कूनले उपलब्धिको ‘रसास्वादन’ गर्नुपर्ने समय आउनुपर्थ्यो, त्यो भएन



बचत तथा ऋण सहकारीहरूको छाता सङ्गठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) बिहीबारबाट ३६ वर्ष पुरा गरी ३७ औँ वर्षमा प्रवेश गर्दै छ । सङ्घले वार्षिक उत्सव मनाइरहँदा केही प्रारम्भिक संस्थाहरू भने बचत फिर्ता गर्न नसक्ने अवस्थामा छन् । प्रारम्भिक संस्थाहरू समस्या पर्न थालेपछि सङ्घ र यसको नेतृत्वको भूमिकामाथि प्रश्न चिन्ह पनि खडा भएको छ । प्रारम्भिक संस्थाको अपेक्षा र सङ्घको भूमिकाबारे केन्द्रित रही वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालसँग गरेको कुराकानी :–

बचत तथा ऋण सहकारीहरूको छाता सङ्गठन नेफ्स्कूनले ३६ वर्ष पुरा गरेको छ । यस अवधिसम्मको बचत तथा ऋण सहकारी अभियान र नेफ्स्कूनको भूमिकालाई कसरी समीक्षा गर्नुहुन्छ ? 

जुनसुकै दृष्टिकोणले हेर्दा पनि ३६ वर्षको अवधि लामो समय हो । यो समयभित्र हामीले सबै उपलब्धिहरू हासिल गर्दै गन्तव्यमा पुगेर यसको रसास्वादन गर्नुपर्ने समय आउनुपर्थ्यो । तर, हामी साकोस अभियानको ३६ औँ स्थापना दिवस मनाइरहँदा त्यो अवस्थामा छैनौँ । हामी र हाम्रो भूमिकामाथि धेरै प्रश्न उठेको विषय स्वीकार गर्नुपर्छ ।

हामीसँग सहकारी ऐन–२०४८ अगाडीसम्म राज्य नियन्त्रित रूपमा सहकारी चल्यो । सहकारी ऐन जारी भएपछि भने सहकारीहरूलाई दर्ता र सञ्चालन हुन मलिलो अनुकूलता थियो । त्यही समयमा धेरै सहकारी सङ्घसंस्थाहरू दर्ता भए । नेतृत्वको पनि विकास भयो ।

अहिले सहकारी ऐन–२०७४ आएपछि अर्को चरणमा प्रवेश गरेका छौँ । यो ऐन कार्यान्वयनको चरणमै हुँदा यति बेला सहकारी संघसंस्था भित्रका साथीहरूलाई प्रश्न चिन्ह खडा भएको छ । सहकारी संस्थाहरूको सुशासनको सवाल उठेको छ, तरलता व्यवस्थापनमा हामी चुकेका छौँ ।

सदस्यहरूलाई सहकारी बुझाउने सवालमा कहीँ कमजोरी भयो कि भन्ने भएको छ । त्यसैले यति बेला हामीले हिजो कहाँनेर त्रुटि गर्‍यौँ भनेर हामीलाई प्रश्न गर्ने ठाउँ छ । सबै राम्रो छ, राम्रो छ भन्दाभन्दै त्रासदी हुनुपर्ने अवस्था किन भयो हाम्रा ३६ वर्षका पाना पल्टाएर समीक्षा गर्नुपर्छ ।

बचत ऋणका ११ हजार संस्थाहरूमध्ये नेफ्स्कून भित्र ५ हजार छन् । ६७ जिल्ला तथा सबै प्रदेशमा बचत ऋण अभियानको संरचना बनेका छन् । प्रारम्भिक संस्थाहरूले आफ्नो गतिविधिबाट समाजभित्र ठुलो प्रभाव पारेका छन् । हाम्रा साकोसहरु अन्तर्राष्ट्रिय मापदण्डमा सञ्चालित भई एसियाली ऋण महासङ्घमा पुरस्कृत समेत भएका छन् । नेफ्स्कूनले राम्रो काम गरेको छ भनेर मन्त्रालयलगायतका ठाउँमा प्रशंसा पनि भएका छन्।

त्यसैले साकोस अभियानभित्र केही माइनोरेटि संस्थाहरूले गरेका गलत कामको असर मेजोरेटीलाई पनि कहीँ न कहीँ परेको छ । यो बेला हाम्रो नीतिगत प्रावधान, केही नेतृत्वको आचरण, नेतृत्वको प्रतिबद्धता, संस्थासँगको कामका विषलाई समीक्षा भने गर्नुपर्ने अवस्था आएको छ ।

सहकारी भनेको सेतो कागज हो । खुल्ला प्रजातान्त्रिक अभ्यास हो, नागरिकसँगको विषय हो । यो राज्य र अभियानसँग मिलेर काम गर्ने विषय हो । त्यसैले अब साकोस अभियानमा पनि करेक्सन भएको नेतृत्व आवश्यक छ ।

३६ वर्षको इतिहासको समीक्षा गरेर आगामी दिनमा त्रुटि हुन नदिने गरी अघि बढ्नुपर्छ । साकोस अभियानलाई सिङ्गो मुलुकको समृद्धिका लागि फाइनान्सियल पाटो भित्रको साझा वृक्षका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता गरेर अघि बढ्नुपर्छ ।

सहकारी अभियानको इतिहासमै संस्थाहरूले अहिले सबैभन्दा बढी अभिभावकत्व खोजेको समय हो  । तर, यहि बेला सङ्घको भूमिकाबारे त प्रश्न उठेको छ नि ?

अभिभावकत्व आवश्यकता किन भयो भन्ने महत्त्वपूर्ण कुरा हो । कोभिड, एकदमै तरलताको अभाव र सहकारी–सहकारी बिचको तिक्तता भएको समयमा पनि संस्थाहरूलाई अभिभावकत्व आवश्यक रहेको विषय ज्ञात भएको हो ।

अब सहकारीको सङ्ख्या धेरै भयो । सहकारीहरूको अवस्था पनि फरक फरक छ । सबै सहकारीहरूलाई एकै डालोमा हालेर ट्रिटमेन्ट गर्न सकिँदैन । यी सहकारीहरूलाई समयमै वर्गीकरण गर्न सकेको भए, नीतिगत गाइड गरेको भए अहिलेको अवस्था आउदैन थियो ।

महासङ्घ–सङ्घ–प्रारम्भिक संस्थाहरूबिच एक अर्काको काममा इन्टर फेयर भएको महसुस पनि हुँदैन थियो । अहिले सिङ्गो सहकारी अभियान भित्रबाट नेफ्स्कूनको अभिभावकत्व खोज्नुको कारण पनि यही हो । यो अवस्थामा नेफ्स्कूनले पनि यसलाई सहजतापूर्वक सहजिकरणमा जानुपर्छ । तर, नेफ्स्कूनका पनि आफ्नै असहजता छन् ।

नीतिगत असहजता छन्, कामको जिम्मेवारी, नेतृत्व भित्रका असहजता छन् । सहकारी ऐन २०७४ जारी भएपछि कर्जा सूचना केन्द्र, कालोसूचीको व्यवस्था, ऋण असुली न्यायाधिकरण, बचत तथा कर्जा सुरक्षण कोष, छुट्टै साकोस ऐन ल्याउन नसक्नुमा नेफ्स्कूनले लबिङ गर्न नसकेको हो कि !

हामीले नतिजामुखी काम गर्न नसक्दा गर्दै छौं, हुदैछ, भनेर संस्थाहरूलाई भनेका कुराहरू विश्वसनीय भएनन् कि ! अव हामी यति वर्षमा यो यो काम गर्दै छौं भनेर प्रारम्भिक संस्थाहरूसँग अहिलेसम्मका त्रुटिमा माफी मागेर अघि बढ्नुपर्छ ।

►साकोस अभियानको ३६ औं स्थापना दिवस मनाइरहँदा हामी सहज अवस्थामा छैनौं । हामी र हाम्रो भूमिकामाथी धेरै प्रश्न उठेको विषय स्वीकार गर्नुपर्छ ।
►हाम्रा साकोसहरु अन्तर्राष्ट्रिय मापदण्डमा संचालित भई एसियाली ऋण महासंघमा पुरस्कृत समेत भएका छन्।

यति बेला सङ्घको नेतृत्व चयनको विषय पनि उत्तिकै चर्चामा छ । तपाई अध्यक्षको रूपमा नेतृत्व गर्न तयार हुनुभएको हो ?

मैले आफूले ‘म तयार भए अध्यक्षमा जान्छु’ भनेर मात्र सम्भव हुँदैन । मेरो २०५७ सालदेखिको बचत तथा ऋण अभियानमा योगदान, प्रतिबद्धता, समर्पणले सबैले मलाई शत प्रतिशत सहकारी कर्मीका रूपमा स्पष्ट चिन्नुभएको छ । सहकारी ऐन २०७४ बनाउँदा महासङ्घको सञ्चालकको रूपमा पनि नेतृत्व गरेकाले बचत तथा ऋण बाहेकका साथीहरूले पनि राम्रोसँग चिन्नुभएको छ ।

सहकारी भित्र नेतृत्व गर्दै गर्दा वरिष्ठ उपाध्यक्ष भएको मान्छे एक पटक अध्यक्षको रूपमा नेतृत्व गरिन भने मेरो आफ्ना योजनाहरू संस्थासँग सेयरिङ मौका समेत हुँदैन । त्यसैले नेतृत्वमा मेरो अपेक्षा र दाबी अस्वाभाविक र अप्रासङ्गिक बन्छ भने लाग्दैन । म मानसिक रूपमा र संस्थागत रूपमा तयार भएको छु ।

आज म जुन संस्थाबाट नेफ्स्कूनमा प्रतिनिधित्व गर्छु, प्रारम्भिक संस्था हाम्रो सुपर साकोस बर्दघाट हो । अघिल्लो वर्ष प्रोवेशन ब्राण्डेड भएको संस्था, प्राविधिक रूपमा मात्र गत वर्ष एक्सेसमा अडिट नगराएका हौँ । अब मलाई प्रारम्भिक संस्थाले त नेतृत्वमा जा भनेको छ।

जिल्लाका साथीहरूले पनि अब नेफ्स्कूनको नेतृत्व नवलपरासीबाट भन्ने बहस सुरु गर्नुभएको छ । मैले काठमाडौँमा बसेर पनि धेरै सहकारी अभियानभित्र काम गरेको हुनाले साथीहरूले सहज रूपमै मलाई नेतृत्वमा प्रस्ताव गर्नुभएको छ ।

मैले विगतमा सहकारी भित्र धेरै ठाउँमा सर्वसम्मत नेतृत्व बनाउन काम गरेकाले अहिले मेरो समयमा पनि सहज रूपमा नेतृत्व हस्तान्तरण हुन्छ भन्ने अपेक्षामा छु । यति मतदान प्रक्रियाबाट भए पनि म नेतृत्वका लागि आफूलाई उम्मेदवारका रूपमा अघि बढ्न तयार छु ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
[email protected]
[email protected]

विज्ञापनका लागि सम्पर्क


रीता शाही 9848222440
[email protected]
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.