काठमाडौं । नेपाल प्रहरीमा रिक्त हुन लागेका अतिरिक्त महानिरीक्षक (एआईजी)का दुई दरबन्दीमा बढुवा गर्न सोमबार दुई जना डीआईजीको नाम सिफारिस गरिएको छ ।
गृहसचिवको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव र प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य रहने बढुवा समितिले डीआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई बढुवा गर्न सिफारिस गरेको हो । उनीहरुविरुद्ध कुनै उजुरी नपरे अर्को साता जोशी र ढकाललाई मन्त्रिपरिषद् कार्यालयले एआईजीमा बढुवा गर्नेछ ।
एआईजीद्वय सन्दीप भण्डारी र मीरा चौधरीले अवकाश पाउने भएपछि रिक्त स्थानमा बढुवा सिफारिस भएको हो । एक साता उजुरीको समय रहने भएकाले यसबीचमा एआईजीमा दुई दरबन्दी खाली भइसकेका हुनेछन् । जोशीले आगामी असार र ढकालले असोजमा अवकाश पाउँदैछन् ।
तल्ला दर्जामा दरबन्दी खाली भएको महिनौं हुँदा पनि पूर्ति नगर्ने विगतको परिपाटी अन्त्य गर्दै यस पटक समयमै बढुवा सिफारिस निकालिएको छ । यसअघि एसपीमा दरबन्दी खाली हुन थालेको झण्डै ९ महिनापछि मात्र बढुवा गरिएको थियो । अन्य दर्जाहरुमा भने समयमै रिक्त दरबन्दी पूर्ति हुने गरेको छैन ।



सम्वन्धित समाचार
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
आसन्न निर्वाचनमा करिव ३१ अर्ब खर्च हुने सरकारको अनुमान
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन
घुससहित विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी पक्राउ
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी
नेपाल प्रहरीका ८ डीआईजीको सरुवा