काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
भेटवार्ताका लागि नेता खनाल आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उनीहरुबीच आज करिब १ घन्टा भेटघाट भएको हो ।
भेटमा अहिलेको पछिल्लो राजनीतिको घटनाक्रम र समसामयिक विषयवस्तु, वर्तमान समीकरण, सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल भएको खनाल निकट स्रोतले जानकारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एसले प्रदेशमा नयाँ सरकार गठन गर्न विद्रोह गरेको थियो । नयाँ सरकार गठन गर्न नेकपा एस कांग्रेस समर्थित नयाँ समीकरणमा सहभागी भएपछि सत्ता गठबन्धनमा तरंग पैदा भएसँगै प्रधानमन्त्री दाहाल र खनालबीच छलफल भएको हो ।
केन्द्रको सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा नेपाली कांग्रेस र नाउपाको रेशम चौधरी पक्षको गठबन्धनमा सहभागी हुँदै नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको छ ।
एमाले, माओवादीसहितको केन्द्रको सत्ता गठबन्धनका शीर्ष नेताहरुले एकीकृत समाजवादीलाई सुदूरपश्चिमको निर्णयबाट पछि हटाउने प्रयास जारी राखेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादीका नेता खनालबीच आजको भेटवार्ता पनि त्यसैमा केन्द्रित रहेको स्रोतले बतायो ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?