काठमाडौं– नयाँ वर्ष २०८१ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुला गराउने व्यवसायीहरूले घोषणा गरेका छन् ।
बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमार्फत परिषद् र बोर्डले जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानुनको परिधिभित्र रहेर दरबारमार्ग र ठमेल क्षेत्र २४ सै घण्टा व्यवसाय सञ्चालन गराउने घोषणा गरेका हुन् ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले २४ सै घण्टा व्यवसाय सञ्चालन गर्दा आर्थिक रूपमा चलायमान र थप रोजगारी सिर्जना हुने बताए । अहिले ठमेलमा मात्रै ८ हजार भन्दा बढी व्यवसायमा ६० हजारले रोजगारी पाएको उनको भनाइ छ ।
दरबारमार्ग विकास बोर्डका संयोजक सञ्जय अधिकारीले दरबारमार्गमा करिब २ सय व्यवसायी रहेको बताए । दरबारमार्ग विकास बोर्डले विगत लामो समय देखिको प्रयास अहिले सफल हुन लागेको उनको भनाइ छ ।
उता जिल्ला प्रहरी परिसर काठमाडौंले पनि ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि विशेष सुरक्षा योजना तयार पारेको छ । प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउनका लागि अपराध हुनसक्ने सम्भावित क्षेत्रको सूक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् । नेपाल प्रहरी र पर्यटक प्रहरीको जनशक्ति थप गरी उक्त बजारलाई चलायमान बनाउन नेपाल प्रहरी लाग्ने उनको भनाइ छ ।



सम्वन्धित समाचार
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
बारको शौचालयमा यौनसम्बन्ध राखेको आरोपपछि किशोरी पक्राउ
कांग्रेस इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
शिक्षा समितिको बैठक आज पनि स्थगित
सार्वजनिक बिदाबारे अध्ययन गर्न कार्यदल गठन-दुई दिने बिदापछि बिदा पुनरावलोकन गरिँदै
स्पेनले उचाल्यो दोस्रो पटक विश्वकप