काठमाडौं : उपनिर्वाचनमा माओवादी केन्द्रले पनि उम्मेदवारी उठाउने भएको छ। इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने नेकपा माओवादी केन्द्रले निर्णय गरिसकेको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको नेकपा माओवादी केन्द्र निकत एक नेताले बताएका छन् ।
तर कसलाई उम्मेदवार बनाउने भन्ने एकिन भइसकेको छैन ।इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि ती दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।
इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार टुंगो लाग्न बाँकी रहेको माओवादी पदाधिकारी बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । ‘सबैले उठाउँछन् भने हामीले पनि उठाउने भनेर उम्मेदवारी दिने निर्णय भएको छ,’ उनले भने ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम( २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ ।माओवादी केन्द्रले बझाङको उम्मेदवार चयन गर्न सुदूरपश्चिम प्रदेश कमिटीको बैठक १६ र १७ चैतमा बोलाएको छ ।सत्ता साझेदार नेकपा एमालेले इलाम (२ )मा नेता सुवासचन्द्र नेम्वाङका छोरा सुहाङलाई र बझाङ जिल्ला अध्यक्ष दमनबहादुर भण्डारीलाई उम्मेदवार चयन गरिसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी शनिबार नाम टुंगो लगाउने भनेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रदेश समितिले इलाम(२ को उम्मेदवारका लागि केन्द्रीय समितिमा ७ जनाको नाम सिफारिस गरेको छ ।



सम्वन्धित समाचार
ईश्वर पोखरेलले गरे अध्यक्षको उम्मेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता
अन्तरिम सरकारको पहिलो मन्त्रिपरिषद् बैठक जारी
सुविधा नलिने –अर्थमन्त्री हुनुअघि रामेश्वर खनालको शर्त
नवनियुक्त मन्त्रीहरूको शपथ ११ बजे हुने
मन्त्रिपरिषद् विस्तार : कुलमानलाई ऊर्जा, अर्थमा रामेश्वर, गृह मन्त्रालयमा ओमप्रकाशलाई जिम्मेवारी ?