काठमाडौँ: आरती शाहका परिवार र गृह मन्त्रालयका अधिकारीहरू बिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै १० महिनादेखि आन्दोलनरत शाहका परिवार आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।
२०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती मृत फेला परेकी थिइन् । आरतीको हत्या भएको पीडित परिवारको आरोप छ । शाहका परिवारसँग ५ बुँदे सहमति भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत प्रतिभा रावलले रातोपाटीलाई बताइन् ।
मङ्गलवारको छलफलपछि भएको सहमतिमा आरतीका परिवारको तर्फबाट उनकी आमा निर्मला देवी शाह, दाजु प्रेम शाह र मामा सन्तोष कुमार शाहले हस्ताक्षर गरेका छन् । गृह मन्त्रालयको तर्फबाट सहसचिव नारायण प्रसाद भट्टराई, काठमाडौँका प्रजिअ जितेन्द्र बस्नेत र उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरेका छन् । छलफलमा सांसद प्रभु शाह पनि सहभागी थिए ।
सर्वोच्च अदालतको आदेश अनुसार ९ पुसमा आरती शाहका श्रीमान् मोतीबाबुलाई प्रहरीले पक्राउ गरेको छ । मोतीबाबु अहिले थुनामा छन् ।
घटना भएपछि पीडितको जाहेरीका आधारमा प्रहरीले मोतीबाबु र ससुरा मदनमोहन सुडीलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालतको आदेशले थुनामा गएका उनीहरू उच्च अदालत जनकपुरको आदेशले छुटेका थिए । उच्चको आदेश सर्वोच्चले उल्टयाएको थियो ।
पीडित परिवारले अनुसन्धान फितलो बनाउने प्रहरीलाई पनि कारवाहिको माग राख्दै आएका थिए ।



सम्वन्धित समाचार
चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै
नेकपा एमालेको सचिवालय बैठक बस्दै: विधान संशोधन प्रस्ताव लैजाने तयारी
सेनामा प्राविधिकसहित ३८८ जनाका लागि भर्ना खुल्यो
जेन-जी प्रतिनिधि र सरकारबीच १० बुँदे सहमति
लेक्स नेपालद्वारा नवाेदित कानुन व्यवसायी सम्मानित, ‘सिक्ने–सिकाउने’ संस्कृतिको साझा केन्द्र बन्दै संस्था
एनपीएल: आज दुई खेल हुँदै