मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्यमा प्रचण्ड



काठमाडौं । सत्ता गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार भएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका हुन्।

प्रधानमन्त्रीकै पहलमा कुरा अगाडि बढाएपछि शीर्ष तहमा मन्त्रिपरिषद् पुनर्गठन गर्ने विषयमा सैद्धान्तिक, व्यवहारिक र नीतिगत सहमति बनिसकेको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको कुरा अगाडि बढाउनुभएको छ । अब हाम्रो पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई सहयोग गर्ने कुरा भएको छ । अब कहिले गर्नुहुन्छ ? त्यो उहाँकै अधिकारको कुरा हो । तर, गठबन्धनको सरकार भएकाले प्रधानमन्त्रीलाई सहयोग गर्ने भन्ने सैद्धान्तिक, व्यवहारिक र नीतिगत सहमति छ । दलका शीर्ष नेताहरुसँग कुरा गरेर गर्नुहुन्छ ।’

माओवादी केन्द्रका सचिव गणेश साहले प्रधानमन्त्रीले तयारी गरे पनि राष्ट्रियसभाको अध्यक्षको निर्वाचनअघि सम्भव नभएको दाबी गरे ।

उनले भने, ‘उहाँले पहिलेदेखि नै प्रयास गर्नुभएको हो । अब राष्ट्रियसभाको अध्यक्षको निर्वाचन आइसक्यो । त्यसैलै त्यसभन्दा अघि हुन्छ जस्तो मलाई लाग्दैन ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकारको कार्यकाल एक वर्ष पुगेकै अवसरमा मन्त्रिपरिषद् पुनर्गठन गर्न चाहेका थिए । तर, देउवा तयार नहुँदा रोकिएको थियो ।

प्रचण्डले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई हटाउन चाहेका छन् भने देउवाले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउनुपर्ने पक्षमा छन् । आफैं नेतृत्वको सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.