मिन बहादुर खड्का काठमाडौं : बाजुराकी १७ वर्षीय बालिका रेजिना नेपालीको बलात्कार पछि हत्या भएको भन्दै पीडितका आफन्तले नेपाल सरकारका गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । मंगलवार गृहमन्त्री नारायण काजी श्रेष्ठलाई भेटेर मृतका बालिकाका बुवा बुधे सनाई र ठुला बुवा सुरेन्द्र नेपालीले घटना बारे गृहमन्त्रीलाई जानकारी गराउनुका साथै गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । पीडित परिवार मृतक बालिकाको न्यायका लागी केही दिन अगाडी राजधानी काठमाडौं आइपुगेका थिए । गृहमन्त्रालयमा भएको गृहमन्त्री संगको भेटमा मृतका बालिकाका बुवा बुधे सनाईले छोरीको बलात्कार पछि हत्या भएको उजुरी दर्ता गर्न खोज्दा प्रहरीले नै आफुहरुलाई अशिक्षित ठानेर झुक्याएको गुनासो गरेका छन् ।
बलात्कार पछि हत्या भएको भनेर जाहेरी दर्ता गराउन जाँदा प्रहरीले नै जाहेरी उल्ट्याएर आत्महत्या दुरुत्साहानमा जाहेरी दर्ता गर्न लगाएको पनि गृहमन्त्रीलाई सनाईले सुनाएका छन् । घटना लुकाउन प्रहरी प्रशासन देखि राजनीति दलका नेताहरु समेत सक्रिय भएर लागेको मृतक बालिकाका ठुला बुवाले दुखेसो पोखेका छन् । प्रहरी प्रशासन समेत राजनीति दबाबमा परेर पीडित माथी थप पिडा थप्ने काम गरेको, आफुहरुको पक्षमा बोल्ने कोही नभएपछि आफुहरु गृहमन्त्रालय सम्म पुगेको, घटनालाई लुकाउन र पिडक बचाउन सबै सक्रिय भएर लागेको नेपालीले रुदै गृहमन्त्री श्रेष्ठलाई सुनाएका थिए ।
आरोपीतलाई तत्काल पक्राउ गरि कानुनी प्रक्रिया अगाडी बढाउनुपर्ने, प्रहरी प्रमुख, प्रहरी निरीक्षकलाई तत्काल निलम्बन गर्नुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षेतीपुर्तीको व्यवस्था गर्नुपर्ने माग लिएर नै काठमाडौं सम्म आइपुगेको गृहमन्त्री समक्ष बताएका छन् । घटनाबारे यता गृहमन्त्री नारायण काजी श्रेष्ठ समेत सकारात्मक देखिएका छन् । पीडितको दुखेसो सुने लगत्तै गृहमन्त्री श्रेष्ठले डिआईजीलाई फोन गरेर भोलि नै सत्यतथ्य बुझेर गृहमन्त्रालयमा रिपोर्ट पठाउन निर्देशन दिएका छन् । यो घटनालाई गम्भीर रुपमा लिएको बताउदै गृहमन्त्री श्रेष्ठले तत्काल सत्यतथ्य बुझेर आवस्यक कारबाहीको प्रक्रिया अगाडी बढाउन निर्देशन दिने आश्वासन दिएका छन् ।
पीडितले भने अनुसार कुरा सत्य हो भने प्रहरी प्रमुख प्रहरी निरीक्षकलाई समेत कारबाही गरिने उनको भनाई थियो । पीडितका आफन्त संग गृहमन्त्रालय सम्म पुगेका बाजुरा घर भैई काठमाडौं अध्यन गर्ने विद्यार्थी र सामाजिक अभियान्ता हेमराज थापा, खेमराज साउद सहितको टिमले ध्यानाकर्षण पत्र मार्फत घटना बारे गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । पीडितका आफन्तले भने घटना बारे गृहमन्त्रीलाई भेटेरै सबै कुरा सुनाएका हुन् । पीडित संग गृहमन्त्रालय सम्म नेकपा माओवादी केन्द्र बाजुराका नेता केशव बिक सहितको टोली पनि पुगेको थियो ।
यस्तो छ गृहमन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्र यो पनि पढ्नुहोस :
बाजुरा जिल्ला बुढीगंगा नगरपालिका वडा न . २ की १७ वर्षीय रेजिना नेपालीको बलात्कार पछि हत्या भएको तर प्रहरीले पीडितले दर्ता गर्न चाहे अनुसारको जाहेरी समेत दर्ता नगरेको घटना प्रती हामी आम बाजुराली युवाहरुको गम्भीर ध्यानाकर्षण भएको छ । पीडितले न्याय माग्दा सम्बन्धित निकायले थप पीडा माथी पीडा थप्ने काम गरेको प्रती हामी घोर आपत्ति जनाउद छौँ।
पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको कुरा निकै निन्दनीय छ । घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्नेमात्रै नभई दोषीलाई उम्काउनसमेत षड्यन्त्र गरेको दु:खद घटना प्रति घोर भत्सर्ना घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई हदैसम्मको कारबाहीको नेपाल सरकार समक्ष जोर दार माग गर्दछौं । बुढीगंगा नगरपालिका वडा नं . २ का वडा अध्यक्ष पदम भण्डारीको गाडी चालक अर्जुन रावतले नै बलत्कारपछि हत्या गरेको हाम्रो ठम्याई छ । मंसिर २९ गते नाईना भन्ने ठाउँमा मृतक रेजिनासहित ४ जना किशोरीहरुमाथि यौनजन्य घटना हुनु, घटना घटेको १ गते राति रेजिनाको मृत्यु हुनु र सोही दिन घटनाको समयमा प्रतिबादी घटनास्थलमा देखिनु कुनै संयोग हुनसक्दैन ।
१७ वर्षीय बालिकाको बलात्कार पछि हत्या हुँदा समेत प्रहरी प्रशासनले पीडित माथी झन पिडा थप्ने गरि जालसाजी पुर्ण षड्यन्त्र गरेकोले प्रहरी प्रमुख र प्रहरी निरीक्षकलाई निलम्बन गरिओस, आरोपित अर्जुन रावतलाई पक्राउ गरि तत्काल कानुनी प्रक्रिया अगाडी बढाईयोस, पीडित परिवारलाई उचित क्षेतीपुर्तीको व्यवस्था गरियोस् भनी सम्माननिय गृहमन्त्री ज्यु मार्फत नेपाल सरकार समक्ष जोर दार माग गर्दछौं । पीडितले न्याय नपाएसम्म जस्तोसुकै मुल्य चुकाउन पनि बाध्य हुने कुरा पनि जानकारी गराउदछौँ । गत मंसिर २९ गते गाउँकै रेजिनाकि दिदि नाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेको जान लागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जेसी नेपाली, बिनिता नेपाली र कविता नेपाली चार जना बिपनालाई घरदेखी पर सम्म छोड्ने गएका थिए। सोही दिन राती निज अर्जुन रावतले रेजिनालाई बलात्कार गरेको र रेजिनाको सल अर्जुन रावतकै हातमा छुटेको थियो । फेरी त्यसको तेस्रो दिन आरोपित अर्जुन रावतको हातमा छुटेको सल दिने बाहानामा आई पुनः घरमै आएर बलात्कार पछि हत्या गरेर झुड्याएको हाम्रो ठहर छ ।
छोरीको न्यायका लागी मृतक बालिका रेजिनाका बुवा जिल्ला प्रहरी कार्यालय जाहेरी दर्ता गराउन जाँदा पीडित परिवारलाई चार पटक प्रहरीले नै जाहेरी लिन नमानेर घर फर्काउनु,पोष्टमाटम रिपोर्ट आएपछि मात्रै जाहेरी दर्ता गर्ने भन्नु, ३२ दिन पछि मात्रै जाहेरी दर्ता गर्नु, त्यो पनि जाहेरी परिवर्तन गरेपछि मात्रै दर्ता गर्नुको पछाडी आरोपित संरक्षणमा प्रहरीको पनि संलग्नता छ, र प्रहरी र राजनीति दलको दबाबमा छ भन्ने कुरा पुष्टि हुन्छ । मृत अवस्थामा भेटिएकि रेजिनाको कप्पल भुत्लिएको, शरीरको पछाडि भागमा माटो लागेको, शरिरका संबेदनसिल अङ्गहरु सुनिएको, र यौनीबाट समेत ब्लड बगिरहेको भएपनी तर पोष्तमातम रिपोर्टमा रेजिना आफै आत्महत्या गरेर मरेकी हुन् भनेर रिपोर्ट आउनुको पछाडी घटना थप संकास्पद देखिएको छ ।
पोष्टमातम रिपोर्टमा समेत सेटिङ गरेर गलत रिपोर्ट निकालेको, निज आरोपित अर्जुन रावत रेजीना मृत भेटिएको दिन देखि नै गाडी छोडेर फरार रहेको भएपनी अहिलेसम्म पक्राउ नगर्नु, आरोपित भारतमा लुकेर बसेको भनेर प्रहरीलाई खबर गर्दा पनि पक्राउ गर्न नचाहानुको पछाडी घटना लुकाउन सुरुवाती देखि नै प्रहरीले सक्रिय भुमिका खेल्दै आएको हाम्रो ठम्याई छ ।
निज आरोपित अर्जुन रावतलाई संरक्षण गर्नका लागि प्रहरी प्रशासन देखी राजनीति दलका नेताहरु नै सक्रिय छन् । घटना स्थलबाटै प्रहरीले मुचुल्का उठाउदा समेत आरोपितलाई उम्काउने गरि मुचुल्का उठाएको, पोष्ट मातम रिपोर्टमा जे देखीयो त्यहीँ अनुसार मात्रै जाहेरी दर्ता गर्न पाईने भनेर जाहेरी सच्याउन लगाएकाले हामी अशिक्षित व्यक्तिलाई झुक्याएको हाम्रो ठहर छ ।
यस अघि पनि एक महिलाको बलात्कारको घटनालाई उल्टाउनु,घटना छुपाउन, र पिडकलाई संरक्षण गर्ने उदेश्यले षड्यन्त्र सहित झुटो मुद्धा दर्ता गराएको त्यसमा प्रहरीको समेर्त संलग्नता रहेको भन्दै प्रहरी प्रशासनको व्यापक आलोचना यस अघि पनि भएको थियो ।बलात्कृत श्रीमतीको न्यायका लागि जिल्ला प्रहरी कार्यालय सम्म पुगेका श्रीमान उनका देवर र अन्य दुई जनालाई कारागार चलान गरेको थियो । झुटो मुद्धामा अहिले पनि दलित समुदायका चार जना कारागार जीवन बिताइरहेको कुरा पनि जानकारी गराउदै प्रहरी प्रशासनले पटक पटक दोहोर्याउदै आएको कार्य निन्दनीय छ । यस्तो निन्दनीय कार्य गर्ने प्रहरी प्रशासन माथि पनि कारबाही गरियोस् ।
तत्काल कारबाही नगरेमा आम बाजुराली युवाहरू जस्तोसुकै मुल्य चुकाउन पनि बाध्य हुने कुरा पनि जानकारी गराउदछौँ । जनताको सुरक्षार्थ खटिने, अपराधी क्रियाकलाप नियन्त्रण गर्ने, प्रहरी नै अपराधी संरक्षणमा लागेको निन्दनीय कार्यको घोर भत्सर्ना गर्दै घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कानुनी कारबाहीको माग गर्दछौं ।
सम्वन्धित समाचार
उड्डयन प्राधिकरण विधेयकले प्रणाली बलियो बनाउँछ : मन्त्री पाण्डे
शिक्षकमाथिको बल प्रयोग कुशासनको उदाहरण हो : शेखर कोइराला
आन्दोलनरत शिक्षकलाई ३ दिनभित्र विद्यालय फर्केर पठनपाठन सुरु गर्न सर्वोच्चको आदेश
नवनियुक्त शिक्षामन्त्रीले भने : अब बोल्नेभन्दा काम गर्ने हो, शिक्षकको माग वार्ताबाट समाधान गर्छु
राष्ट्रिय परीक्षा बोर्डको निर्णय, कक्षा १२ को परीक्षा नरोक्ने
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा