प्रजातन्त्र दिवसको समारोहमा पत्रकारलाई प्रवेश दिइएन



काठमाडौं : राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् । प्रजातन्त्र दिवसकै अवसरमा आयोजितत कार्यक्रममा पत्रकारलाई प्रबेशमा रोक लगाएर सूचनाको हकबाट बञ्चित गराएको भन्दै पत्रकारहरुले आपत्ति जनाएका छन् । सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् । समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ । सूचना तथा प्रशारण प्रेस कार्ड हुनेहरुलाई पनि प्रवेश नदिएपछि पत्रकारहरुले विरोध जनाएका हुन् । यो कस्तो प्रजातन्त्र दिवस, जहाँ सूचना सम्प्रेषण गर्न समेत दिइएन ।

विक्रम संवत् २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८० को अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो । राष्ट्रपति पौडेललाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

समारोहमा शान्तिको कामना गर्दै सेतो परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका विभिन्न ब्यान्डले राष्ट्रिय गीतको धुन प्रस्तुत गरेका थिए । सो समारोहमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो ।सोही अवसरमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि, तीनवटै सुरक्षा निकायबाट आकर्षक मार्चपास, उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना सांस्कृतिक झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए । समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गरेका थिए ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.