काठमाडौँ — आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पर्यावरणीय लोकतन्त्रका लागि नागरिक अभियान ले विशेष अपिल गरेको छ। अभियानले शनिबार विज्ञप्ति जारी गर्दै निर्वाचन आयोग द्वारा जारी ‘निर्वाचन आचारसंहिता–२०८२’ को पूर्ण पालना गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेको हो।
विज्ञप्तिमा हालसम्म आचारसंहिताको कार्यान्वयन आधारभूत रूपमा सकारात्मक देखिए पनि पछिल्ला दिनमा उल्लङ्घनका घटनाहरू सार्वजनिक हुनु चिन्ताजनक भएको उल्लेख छ। विशेषगरी निर्वाचनअघि लागू हुने ‘मौन अवधि’ मा आचारसंहिता उल्लङ्घनको जोखिम उच्च रहने विगतको अनुभवलाई ध्यानमा राख्दै अभियानले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
“भय, त्रास, लोभ र प्रलोभनयुक्त वातावरणमा गरिने निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न सक्दैन,” विज्ञप्तिमा भनिएको छ, “निर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउनु हामी सबैको साझा जिम्मेवारी हो।”
अभियानले नेपाल सरकार, राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारमाध्यम, निर्वाचन पर्यवेक्षक, उम्मेदवार तथा आम मतदातालाई आचारसंहिताको अक्षरशः पालना गर्न हार्दिक अपिल गरेको छ।
अपिलमा हस्ताक्षर गर्नेहरूमा नरेन खतिवडा, डा. चिरन्जिवी भट्टराई, गंगा देवी कडेल, मन्जु गुरुङ्ग, भोला भट्टराई, खगेन्द्र ओली, अधिवक्ता गणेश धामी, प्रयास अधिकारी, सरोज गिरी, लोकेन्द्र राज गिरी, अधिवक्ता भुपेन्द्र शाह, योगेन्द्र विजय दाहाल, राम रोहन पन्त, कर्ण बहादुर नेपाली, संजय पन्थी, सागर देवकोटा, जिना यादव, जिया राजभण्डारी र समिर परियार रहेका छन्।
अभियानले स्वच्छ निर्वाचन नै लोकतन्त्रको प्राणवायु भएको उल्लेख गर्दै वातावरणीय र सामाजिक न्यायसहितको लोकतन्त्र सुदृढ बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।



सम्वन्धित समाचार
एमाले उपाध्यक्ष पौडेल साधरण तारेखमा रिहा
न्यायिक सहजकर्ता मार्फत ९० हजार सेवाग्राहीहरु लाभान्वित
सिंहदरबारमा मिटरव्याज पीडित र सरकारी टोलीबीच वार्ता सुरु
आजदेखि शिक्षा,स्वास्थ्य र विधुतमा थप कर लागू
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित