काठमाडौँ । देश र जनताका लागि शहादत प्रदान गर्ने शहीदहरूको सम्मानमा विभिन्न कार्यक्रम गरी आज देशभर शहीद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने परम्परा छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुने गरेको छ ।
यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।



सम्वन्धित समाचार
कांग्रेसका निवर्तमान सांसदहरु सर्वोच्च जाने कार्यक्रम स्थगित
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार घाइते
उच्च पहाडी तथा हिमाली भागमा वर्षा र हिमपात
सुनको मूल्य हरेक दिन नयाँ उचाइमा
प्रधानमन्त्री कार्कीले गरिन् निर्माणाधीन काठमाडौं–तराई द्रुतमार्गको निरीक्षण
सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी