काठमाडौं । नेपाल धितोपत्र बोर्डमा निमित्तको जिम्मेवारीको लागि अर्थमन्त्रालयले पत्र पठाएको छ । आइतबार नाम नतोकी वरिष्ठ कार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिदै पत्र आएको बोर्ड स्रोतले जनाएको छ ।
मन्त्रालयबाट पत्र आएपछि चारजना कार्यकारी निर्देशकसहित व्यवस्थापक तहका कर्मचारीको बैठक बसेको छ । बैठकमा पहिलो वरीयताका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले नै निमित्तको जिम्मेवारी लिने छलफल भएको बोर्ड स्रोतले जनाएको छ ।
रमेश हमाल अध्यक्ष हुँदा उनले आफू बिदामा बस्दा निमित्तको जिम्मेवारी पाउँदै आएका विनयदेव आचार्यले नै डा. अधिकारीलाई जिम्मेवारी लिन भनेको स्रोतले जनाएको छ ।
आज सोमबार थप छलफल हुने र सोमबार नै सञ्चालक समितिको बैठक बस्नसक्ने बोर्डका एक अधिकारीले बताए । सञ्चालक समितिले निमित्तको जिम्मेवारी पाउने अधिकारीले गर्ने जिम्मेवारी तोक्नेछ ।
२० पुसमा कार्यकाल सकिएर अध्यक्ष रमेश हमाल बिदा भएसँगै बोर्डमा निमित्तको जिम्मेवारीसमेत नतोकिंदा दैनिक काम कारबाही नै प्रभावित बन्दै आएको थियो ।
सरकारले बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थसचिव र एकजना विज्ञ सदस्य रहेको सिफारिस समिति बनाइसकेको छ ।
समिति अध्यक्ष छनोटको लागि आवश्यक कार्यविधि तर्जुमा गरेर अध्यक्षको लागि आवेदन माग गर्नेछ । सोही समितिले तीन जनाको नाम सिफारिस गरि मन्त्रिपरिषद्ले एक जना अध्यक्षमा नियुक्त गर्नेछ ।



सम्वन्धित समाचार
धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनमा अल्पकालीन र दीर्घकालीन परियोजना बनाउन संयुक्त समिति गठन हुने
कांग्रेसको प्रतिज्ञा पत्र केन्द्रीय समितिबाट सर्वसम्मत पारित
बालेनको प्रचारमा खटिएका सादा पोशाकका प्रहरी थिए: अनुसन्धान हुँदै ?
कांग्रेसका निवर्तमान सांसदहरु सर्वोच्च जाने कार्यक्रम स्थगित
गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा