विनय कार्की
अगस्ट १२का दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ । यसै सन्दर्भलाई पारेर यस लेखमा नेपाली युवाको अवस्था, देशको समस्या र समाधानका लागि युवा नीतिमा परिमार्जनको आवश्यकताका बारेमा चर्चा गरिने छ । विश्वमा सबै समाजमा समस्याहरू हुन्छन् । समस्याका प्रकार, आयाम र मात्रा भने समाज अनुसार फरक पर्छन् । समाज अनुसार त्यहाँको नीति, कानुन व्यवहार र तत्कालीन समयका आर्थिक, सामाजिक र राजनीतिक अवस्थाले यसमा फरक पर्ने गर्छ । समाज एउटै भन्दा पनि बहु आयामिक समस्याहरूमा जेलिएका हुन्छन् । व्यक्ति, समाज र राष्ट्र भित्रका समस्याहरूले एक अर्कालाई प्रभाव पारिरहेका हुन्छन् । कतिपय नितान्त व्यक्तिगत देखिने समस्याहरू केवल व्यक्तिगत मात्र समस्या नभएर सामाजिक साथै राष्ट्रिय स्तरमा समस्या हुन्छन् । त्यस्तै समाज वा राष्ट्रमा देखिने समस्याहरूले व्यक्तिलाई असर गरिरहेका हुन्छन् ।
आज आम नेपालीको बुझाइमा नेपाली समाज समस्याको जालोमा फसेको समाज हो । हामीले धेरै पटक धेरै ठाउँमा यसको अभिव्यक्ति सुनेका पनि छौ र आफै भोगेका र स्वीकारेका पनि छौ । यसका साथै हामीले नेपाल भनेको कहिल्यै राम्रो नहुने र राम्रो गर्न नसकिने (सतीले सरापेको देश) र आशा र सम्भावना नभएको देश भन्ने नकारात्मक भाष्यको प्रयोग सामान्य रूपमा गरिरहेका हुन्छौ । हाम्रा आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रका समस्याहरूका कारण र प्रभाव आन्तरिक र बाहिर दुवै भए पनि समाधान भने मुलत आन्तरिक हुन्छन् । कसैले भनिदिएको, खोजिदिएको, बनाइदिएको क्याप्सुल जस्ता समाधानका उपायले समस्याको दिगो समाधान गर्दैनन् । नेपालले मौलिक र दिगो विधिको समाधानको खोज्न सक्नुपर्छ । आजको नकारात्मक भाष्यले समाजलाई थप कमजोर, गतिहीन र लक्ष्य विहीन बनाएर समस्या माथि समस्या थपेका छन् । यो नकारात्मक धारणा प्रति समाज बेलैमा सजक हुनपर्छ ।
कुनै पनि देश र समाज गतिशील बन्न नागरिकमा सपना, चाहना, आशा, भरोसा साथै क्रियाशीलता आवश्यक पर्छ । युवा पुस्तामा देखिएको निराशा, अराजकता र अविश्वासले उनीहरूको परिवार, समाज र राज्यसँग दूरी बढ्दै गएको छ । यसले समाजमा थप अन्यौलता र अन्धकार तिर धकेलिएको छ । उनीहरूको हाम्रा सामाजिक संरचना, सार्वजनिक सेवा र निजी क्षेत्र, सरकार, राजनीति, वित्तीय संस्था, सामुदायिक संस्थाहरू प्रति विश्वास घट्दो छ । यो अवस्था बाट बाहिर आउन तथ्य र तर्कका आधारमा सहिलाई सही र गलतलाई गलत भन्ने युवाको खाँचो समाजमा छ ।
युवालाई देशको सम्पत्ति र धरोहरका रूपमा हेरिन्छ । देशको आजको अवस्थाले ऊर्जा, लगनशीलता, सृजनशीलता, सक्रियता र समय साथमा भएको युवा पुस्तालाई उत्साहित बनाएको छैन । युवाहरूलाई आफ्नो देश र समाज प्रति विश्वास गरेर सपना देख्न सकिरहेका छैनन् । उनीहरूले आफ्नो योग्यता, क्षमता र सिपको उपयोग गर्दै रोजगारीका अवसर पाउन सकेका छैनन् । उनीहरूलाई देशमा केही गर्न सकिँदैन र यहाँ बस्नु भनेको समय खेर फ्याल्नु भन्ने लाग्दै छ । उनीहरूको दिमागमा रोपिएको पलायन हुनु मात्र विकल्प भन्ने बिरुवा हुर्किएको देखिन्छ । यो निराशाजनक भाष्यले धेरै व्यापारी, म्यानपावर, सरकारका सीमित व्यक्तीहरुलार्ई धमिलो पानीमा माछा मार्न सहयोगी बने पनि यसले हाम्रो समाजलाई दीर्घकालीन लाभ हुँदैन ।
हिजो विदेश जानेले किन जान लागेको भन्ने प्रश्नको उत्तर दिन पर्ने ठाउँबाट आज विदेश नगएकाहरूले किन नगएको भनेर प्रश्नको उत्तर समाजमा खोजिने अवस्था आइसकेको छ । आजको खुल्ला समाजमा मानिस विश्वका सबै ठाउँमा जान सक्छन् यो सामान्य कुरा हो । तर सामाजिक रूपमा बिदेसिनू नै संस्कार वा संस्कृतिको रूपमा विकास भएको ट्रेन्ड भने समाज र देशको हितमा भने हुन सक्दैन । हाम्रा नागरिक लगिरहेका धेरै देशले आफ्नो स्वार्थलाई प्राथमिकता राखेर लगेका भए पनि विडम्बना भनाै हाम्रो देशले उत्पादनशील जनशक्ति विना योजना निर्यात मात्र गरिरहेको छ ।
अर्को तर्फ हाम्रा विश्वविद्यालय खाली हुँदै हुँदै छन् । खेतबारीहरू बाझो बन्दा उत्पादन घटेको छ भने परनिर्भरता बढेको छ । हाम्रा मौलिक सिप र ज्ञानमा धुलो लाग्न थालेका छन् । हाम्रो टाउकोमा ऋण थपिरहेको छ । अर्ग्यानिक र पुराना उत्पादन प्रणालीहरू विघटन हुँदैन । यो सँगै हाम्रा सामाजिक सम्बन्ध र संस्कार, राम्रा मूल्यमान्यता, सामाजिक संरचनाहरू व्यापक विघटन तिर गएका छन् ।
गौतम बुद्धले जीवन र जगतलाई बुझ्न चार सत्य दिएका छन् । पहिलो संसारमा दुःख छ । दोस्रो सबै दुःखका कारणहरू छन् । तेस्रो दुःखको निवारण गर्न सकिन्छ । चौथो दुःख निवारणका उपाय हुन्छन् । बुद्धले भने जस्तै हामी सँग समस्या (दुः ख) छन् । त्यसका कारण छन् र यो समस्या बाट बाहिर आउन उपायहरू पनि छन् । त्यसैले बुद्धको जन्म भूमिमा २५०० वर्ष पछाडि समस्याबाट भाग्ने भन्दा पनि समस्याको निवारण गर्ने उपायको खोज गर्न पर्छ । यसका लागि समाजमा रहेका दुःख र समस्याको समाधान गर्न यसका कारणहरूको पहिचान गर्न सक्नु पर्छ ।
राष्ट्रिय युवा नीतिको परिमार्जनको आवश्यकता
नेपालमा १६ देखि ४० वर्षको उमेर समूहलाई युवा मानिन्छ । राष्ट्रिय जनगणना २०७९का अनुसार ४२.५६ प्रतिशत जनसङ्ख्या युवाको रहेको छ । यो जनसाङ्ख्यिक लाभांश नेपालका लागी युवा जनशक्तिको सदुपयोग गर्दै समाजमा दिगो विकास, शान्ति र समृद्धि हासिल गर्ने सम्भावना, आशा र अवसर हो । युवामा राष्ट्र, राष्ट्रियता र जनताप्रतिको बफादारी, लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्धन, सह–अस्तित्व र सहकार्यको भावना विस्तार र युवाको सर्वाङ्गीण विकास गर्दै उनीहरूको क्षमतालाई राष्ट्रको विकासमा उपयोग गर्न युवाका लागि राष्ट्रिय युवा नीति, २०७२ हाल कार्यान्वयनको अवस्थामा रहेको छ । देशमा युवा नीति कार्यान्वयनको अवस्थामा हुँदा पनि सीमित युवा यसबारे जनकार छन् । अझै सीमित युवाले यस नीति अन्तरगतका कार्यक्रमबाट लाभ लिएका छन् । देश छोडेर परदेश हिँडिरहेको युवाको लर्कोले पनि युवा नीतिले युवाका सवाल र समस्याको समाधान गर्न नसकेको प्रस्ट देखिन्छ । यसका पछाडि केही महत्त्वपूर्ण कारण देखिन्छन् ।
पहिलो यस नीतिले परिलक्षित गरेका कार्यक्रमको कार्यान्वयन गर्ने बजेट हात्तीको मुखमा जिरा जस्तै हुनु हो । सङ्घ, प्रदेश र स्थानीय तिनै तहका सरकार, गैरसरकारी र निजी क्षेत्रले युवा लक्षित कार्यक्रमका कम वा अति न्यून लगानी गर्ने गरेको पाइन्छ । दोस्रो यस नीतिले समेटेका युवाको शिक्षा, रोजगारी, स्वास्थ्य तथा सामाजिक सुरक्षा, क्षमता र नेतृत्व विकास, दुर्व्यसन र मानव तस्करी नियन्त्रण, वातावरण संरक्षण र दिगो विकास, विज्ञान तथा सूचना प्रविधिमा युवाको पहुँचका जस्ता बहु आयामिक क्षेत्रमा कार्यक्रम दिन, कार्यान्वयनको अनुगमन र मुल्याकंन गर्नका लागी विभिन्न मन्त्रालय बिच अन्तर मन्त्रालय समन्वय र सहकार्यको अभाव हुनु हो । यस नीतिको कार्यान्वयन युवा तथा खेलकुद मन्त्रालयको नेतृत्वमा हुने भनिएको भए पनि युवा मन्त्रालयलाई नै ओझेल परेको मन्त्रालयको रूपमा देखिदा समन्वयकारी भूमिका खेल्न अझै कठिन भएको छ । त्यस्तै युवा नीतिको कार्यान्वयन गर्न राजनीतिक दलहरूको यस प्रतिको प्रतिविद्धताको पनि आवश्यकता देखिन्छ ।
तेस्रो संरचनागत समस्या हो । देश सङ्घीय संरचनामा गएको दशक बित्न लाग्दा युवा नीतिलाई सङ्घीयता अनुरूप परिमार्जन गरिएको छैन । आवश्यक अधिकार र बजेट सहित युवाका लागी काम गर्ने संयन्त्रको तिनै तहमा व्यवस्था गरिनु अनिवार्य छ । साथै अझै सक्रिय रहेको जिल्ला युवा समिति जस्ता संरचना खारेज गरिन पर्छ । त्यस्तै, राष्ट्रिय युवा परिषद्को गठनमा युवाका मुद्दा भन्दा राजनीतिक पार्टीको सदस्यता प्राथमिकतामा पर्ने गरेको देखिन्छ । यसले राष्ट्रिय युवा परिषद् राजनीतिक भागबन्डाको थलो बन्न पुगेको छ । यसले युवाका सवालहरू पनि ओझेलमा परेका देखिन्छन् ।
चौथो, युवाहरूका सवाल, माग र अधिकारका लागि सामूहिक अभियान र आन्दोलनहरू कम हुनु हो । युवा हक अधिकारका विषयमा समाजमा प्रश्नहरूको अभाव देखिन्छ । युवाको हक हित र अधिकारका लागि सामूहिक दबाब दिने समूहहरूको कमी, भएका समूह र व्यक्ति बिच सहकार्य र समन्वयको अभाव देखिनुले युवा नीतिको कार्यान्वयनको अवस्था युवाको माग अनुसार हुन सकेको छैन । साथै युवाका लागी सामुदायिक, निजी, सरकारी, गैर सरकारी क्षेत्रबाट पर्याप्त सहयोग र सहकार्यको अभावले पनि युवाको सशक्तीकरण र नेतृत्व विकास हुन सकिरहेको छैन ।
पाँचौँ, युवा आफैमा आत्मविश्वास, भरोसाको खडेरी लाग्नु हो । युवामा क्षमता र वास्तविकता बिचको दुबिधामा फसेका देखिन्छन् । वास्तविकतामा काम गर्ने भन्दा क्षमताको सपनाले युवामा निष्क्रियता बढेको देखिन्छ । क्षमताको प्रयोग गरेर वास्तविकता बदल्ने कामका युवामा उत्साह देखिँदैन । समाजमा उत्सव, उमंंग र ऊर्जा अभिव्यक्ति हुने भन्दा निराशा सघन बन्दा युवामा सपना, आशा, भरोसा कमजोर बनाएको छ । कुनै बहाना र विकल्पले वास्तविकता बदलिँदैनन् । यसका लागी युवा पुस्तामा समाजका समस्या र चुनौती सामना गर्ने साहस र जिम्मेवारी बोध हुन पर्छ ।
आजको समाज बनाउन हिजोका युवाले सङ्घर्ष गरे जस्तै अबको हाम्रो समाज कस्तो बनाउने भन्ने युवा पुस्ताले सोच्न पर्छ । समाजको लगाम युवाहरूको हातमा हुन्छ । त्यसैले समाजमा रहेका समस्याको पहिचान गर्दै समाधानको खोजीमा जुटौँ । यहाँ भएका निराशालाई आशामा बदल्न प्रयत्न गरौँ । असफलतालाई सफलतामा बदल्न प्रयास गरौँ । हामीले केवल नकारात्मक तिर लाग्ने भन्दा यस्तामा प्रश्न र प्रतिरोध गर्दै यसका जरा उखाल्न माटो खोस्रन सुरु गरौँ । हामी समाजको गति र गन्तव्य दुवै परिवर्तन गर्न सक्छौ । त्यसका लागी विश्वास गरौँ, कर्म गरौँ, सकारात्मक सोचको प्रवर्धन गरौँ, सपना देखौँ, प्रयास गरौँ र परिवर्तनको पक्षमा लागौँ । नेपालको सुखी नेपाली समृद्ध नेपाल बन्ने सपना साकार गर्न प्रयत्नशील बनौँ ।
सम्वन्धित समाचार
हिउँदे अधिवेशनमा मन्त्रालयसँग सम्बन्धी विधेयकहरु प्रस्तुत हुने छन्ः मन्त्री पाण्डे
आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
प्रधान्यायाधीशमा प्रकाशमान सिंहको नाम सिफारिस
दुर्घटना छानविन र हवाई उड्डयनमा सेवा प्रदाय र नियामक निकाय छुट्याउने प्रस्ताव मन्त्रिपरिषद्मा पुगिसक्योः मन्त्री पाण्डे
नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन
६० औँ बाल दिवस विशेष : वक्तृत्वकलामा विनिता र निबन्ध लेखनमा हस्तीमाया प्रथम