काठमाडौंमा आज राप्रपाको जनप्रदर्शन गर्दै



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निकै महत्व दिएको काठमाडौं केन्द्रीत बृहत जनप्रदर्शन आज आयोजना हुँदैछ । गत ९ फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष ४० बुँदे माग राखेर आन्दोलनमा होमिएको राप्रपाले यसको उत्कर्षस्वरुप आज काठमाडौंमा शक्तिप्रदर्शन गर्न लागेको हो ।

पार्टी आबद्ध विभिन्न संघ–संगठनले जस्तै आन्दोलन उपत्यका परिचालन समितिले पनि तयारीलाई तीव्रता दिएको संयोजक विक्रमबहादुर थापाले जानकारी दिए । राप्रपा बागमती प्रदेश अध्यक्षसमेत रहेका थापाका अनुसार आज हुने जनप्रदर्शनमा गत निर्वाचनमा काठमाडौं उपत्यकाबाट प्राप्त समानुपातिक मत बराबर जनता उतार्ने गरी तयारी भइरहेको छ । उनले काठमाडौंवासीको समर्थन प्राप्त हुने दाबी समेत गरेका छन् ।

जनसहभागीता र जनपरिचालनका लागि काठमाडौं, ललितपूर र भक्तपुरमा दिनहुँजसो बैठक, घरदैलो र कोणसभाहरु भइरहेका छन् । उपत्यकाका सबै नगरपालिकामा आन्दोलन कमाण्डर तोकिएका थिए । वडामा समिति गठन गरिएको छ । राप्रपाले आफ्ना विभिन्न संगठन, भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि परिचालन गरेको छ । काठमाडौंको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने राप्रपाको तयारी छ ।

जिल्लाका प्रतिनिधिहरूलाई आन्दोलनसम्बन्धी प्रशिक्षणसमेत दिएको राप्रपाको जनप्रदर्शनमार्फत आफ्नो मागमा सरकारलाई घुँडा टेकाउने दावी गरेको छ ।
राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागपत्रमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्ने लगायत विषय छन् ।

राप्रपाले जनप्रदर्शनमा सहभागी हुन उपत्यकाबाहिरबाट पनि मानिसहरु ओसारिरहेको छ । कम्तिमा ५० हजार मानिसहरु काठमाडौंका सडकमा उतार्ने राप्रपाले तयारी गरेको छ । यसअघि व्यवसायी दुर्गा प्रसाईंले एक्लै हजारौंको भिड जम्मा गरेकाले पनि राप्रपा महत्वाकांक्षी बनेको हो ।

विरोध र सभा सम्मेलन गर्न पाउने संवैधानिक अधिकारलाई कुण्ठित गर्दै घोषणा गरिएको निषेधित क्षेत्र राप्रपाले नमान्ने अध्यक्ष राजेन्द्र लिङदेनले घोषणा गरेका छन् । ‘निषेधित क्षेत्र तोडेर अगाडि बढ्छौं, सरकारले दमन गरेर मुठभेडको स्थिति निर्माण नगरोस,’ उनले भनेका छन्, ‘अन्यथा प्रतिवाद गर्न वाध्य हुनेछौं ।’

निषेधाज्ञा तोड्ने गरी काठमाडौं  प्रदर्शन गर्ने घोषणा गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी काठमाडौंमा करिब ६ हजार प्रहरी परिचालन गर्ने तयारी छ ।

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधमा मंगलबार बिहान साढे ११ बजे भृकुटीमण्डपमा भेला भएर नगरका विभिन्न क्षेत्र परिक्रमा गर्ने जनाएको छ ।

Nationpati
सूचना विभाग दर्ता नंः 2044/077-78

Kathmandu
+977 01 9861780894 / 9843050426
nationpatinews@gmail.com
bsnewsbajura@gmail.com

विज्ञापनका लागि सम्पर्क


रीता शाही-9864183719
nationpatinews@gmail.com
Copyright © 2023 Nationpati. All Rights Reserved. Developed by Volcussoft.