पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गण्डकी क्षेत्रमा राजावादीहरू सुरक्षा चुनौतीका रूपमा रहेको बताएका छन् । पोखरामा गण्डकी स्तरीय सुरक्षा बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै राजावादी अभियानका कारण चुनौती बढेको बताए ।
‘समग्रमा गण्डकीमा सुरक्षा अवस्था राम्रो छ । तैपनि केही चुनौतीहरू छन्,’ उनले भने, ‘राष्ट्रिय रूपमा रहेका चुनौती यहाँ पनि छन् । तत्कालका लागि भन्दा खेरी संविधान नमान्नेहरूका कारण चुनौती छ । संविधान उल्लङ्घन गर्छु भन्ने, राजतन्त्र स्थापित गर्छु भन्ने, धार्मिक राज्य बनाउँछु भन्नेहरूले चुनौती थपेका छन् ।’
उनले सहकारी पीडित र मिटरब्याज पीडितका अभियानहरू पनि चुनौतीको रूपमा रहेको सुनाए । श्रेष्ठले भ्रष्टाचार देशको प्रमुख शत्रु भएकाले सरकार भ्रष्टाचार अन्त्य गर्न जिम्मेवार भएर लाग्ने बताए । उनले भ्रष्टाचार माथिल्लो तहमा रहेको पनि स्वीकारे । ‘माथिल्लै तहमा भ्रष्टाचार छ । पहुँच भएका वर्ग, राजनीतिक नेता र कर्मचारी नै संलग्न छन्,’ उनी भन्छन्, ‘एकातिर सुशासनको माग गर्ने अर्कोतिर कारबाही गर्न नदिने । अब कसलाई कारबाही गर्ने त रु’
राज्यलाई लुटेको टुलुटुलु हेरेर नबस्ने श्रेष्ठको दाबी छ । सङ्क्रमणकालीन न्याय यही संसदबाट टुङ्गोमा पुर्याउने उनले सुनाए । ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गर्छौँ । शान्ति प्रक्रियालाई पूर्णता दिने पक्षमा सरकार छ,’ उनले भने, ‘सबै दलसँगको समझदारीमा यो टुङ्गोमा पुग्छ ।’
उनले प्रहरी समायोजनको विषय प्रक्रियामा रहेको बताए । २४ गते राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर समायोजनका लागि समिति गठन गर्ने गृहमन्त्री श्रेष्ठले बताए । ‘२४ गते समिति गठन हुन्छ । समितिले अध्ययन सहित समायोजन कार्य तालिका दिन्छ,’ उनले भने, ‘कार्य योजनाका आधारमा काम हुन्छ ।’ प्रहरी, सशस्त्र प्रहरी र समायोजन सम्बन्धी विधेयक आगामी संसदमा पेश गर्ने उनको भनाई छ ।



सम्वन्धित समाचार
सरकारको १०० दिने शासकीय सुधारमा युवा बहसः ‘सकारात्मक तर कार्यान्वयन चुनौतीपूर्ण’
टर्किस जहाजमा प्राविधिक समस्या, ढाका ‘डाइभर्ट’
राष्ट्रपतिबाट राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
रामेछाप बस दुर्घटना अपडेटः १० जना मृतको सनाखत
बाजुरामा स्वस्थ प्रतिस्पर्धा र स्वतन्त्र मतदानको वातावरण बनाउन उम्मेदवारविच सामूहिक प्रतिबद्धता
गगन-विश्वले गरे विशेष महाधिवेशन उद्घाटन